८ बैशाख २०८१, शनिबार

जनतासामु गरेका धेरै प्रतिवद्धता पुरा गरेका छौं



लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईले छाडा गाईगोरु व्यवस्थापन तथा सडक निर्माणमा केही ठोस काम गर्ने प्रयासमा छन् । नगर प्रमुख बजगाईंले छाडा गाईगोरु व्यवस्थापनलाई उपलब्धिमूलक बनाउन एउटा छाडा गाई वा गोरु पाल्नेलाई एक हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरे । उनको त्यो योजना प्रभावकारी पनि देखियो । लम्कीचुहाका सयौं छाडा गाईगोरु सेती र कर्णाली अञ्चलका पहाडी जिल्लामा पु¥याइएका छन् । यससँगै उनले नगरभित्र कम्तिमा ३० फुट चौडा सडक निर्माणको मापदण्ड लागू गरेका छन् ।
तत्कालीन नेकपा (एमाले) का विभिन्न कमिटीमा रहेर काम गरेका नगरप्रमुख बजगाईं हाल नेकपाको प्रदेश कमिटी सदस्य छन् । उनीसँग नगरको विकासका विविध पक्षमा गरिएको कुराकानीको सारसंक्षेप ।

महादेव बजगाई
प्रमुख, लम्कीचुहा नगरपालिका

कर्णाली चिसापानी र कर्णाली पुलको प्रचारप्रसारका लागि के गरिरहनु भएको छ ?
– हामीले कर्णाली चिसापानीको प्रचारप्रसारका लागि नै कैलाली भ्रमण वर्षको उद्घाटन कार्यक्रम चिसापानीमा राख्यौं । निजी क्षेत्रबाट पनि कर्णाली चिसापानी क्षेत्रको प्रचारप्रसार हुने गरेको छ र हामीले त्यसमा सहयोग गरिरहेका छौं । कर्णाली नदीमा जलयात्राको क्रम बढेको छ । रानीजमरा, कुलरिया सिंचाईं आयोजनाका कारण पनि पर्यटक आगमनमा बृद्धि भएकोे छ । हामी आन्तरिक र बाह्य पर्यटक आगमनमा बृद्धि ल्याउन प्रयास गरिरहेका छौं । कर्णाली चिसापानी क्षेत्रको विकास र प्रचारप्रसारका लागि प्रदेश सरकार अन्तर्गत पर्यटन विकास बोर्ड गठन गरेर तथा पर्यटन विकास गुरुयोजना बनाएर अगाडि बढाउने योजना रहेको छ ।

नगरमा छाडा गाईगोरु व्यवस्थापनको अवस्था कस्तो छ ?
– तराईमा छाडा गाईगोरु व्यवस्थापन ठूलो चुनौतीका रूपमा रहेको छ । लम्कीचुहा नगरपालिका मात्रै होइन, हरेक नगरपालिका छाडा गाईगोरुका कारण तनावमा छन् । हामी विजयी भएर काम गर्न थालेपछि केही व्यक्तिले हामीलाई कमजोर देखाउन नगरपालिका र मेरो घरमा समेत गाईगोरु छोड्ने काम गरे । तर हामी छाडा गाईगोरु व्यवस्थापनमा केही सफल भएका छौं । अहिले नगरपालिकामा छाडा गाईगोरुको समस्या केही कम भएको छ । हामीले छाडा एक गाई वा गोरु लैजानेलाई एक हजार रुपैया“ दिने नीति ल्यायौं । सो योजना लागू भएपछि एक हजार छ सय छाडा गाईगोरु विभिन्न पहाडी जिल्लामा लगिएका छन् । हामी आफैंले चार सय गाईगोरु पालेर राखेका छौं ।

मेयरका लागि गाडी किन्न छुट्याइएको रकम अस्पताल निर्माणमा खर्च गर्ने घोषणा गर्नु भएको छ । यो सस्तो लोकप्रियताका लागि मात्रै हो कि ?
– हामीले सस्तो लोकप्रियता आर्जन गर्न गाडी किन्न छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेको होइनौं । अस्पताल बनिरहेको छ । हामीलाई लोकप्रियता भन्दा पनि जनताको हीतमा काम गर्नु छ । हामी लोकप्रिय भएकैले जनताले हामीलाई विजयी गराएका हुन् । अस्पतालको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनिसकेको छ । अब केही दिनमै टेण्डर आह्वान गर्छौं ।

सडक विस्तार र स्तरोन्नतीका लागि चाही के गर्दै हुनुहुन्छ त ?
– हामीले सडक निर्माणमा केही उल्लेख्य काम गरेका छौं । डेढ वर्षको अवधिमा दुई ४५ किलोमिटर सडक ग्राभेल गरेका छौं । यस वर्ष पनि थप सडक निर्माण हुँदै छन् । केही सडक कालोपत्रे गर्ने योजना छ । हामीले कम्तिमा ३० फिट चौडा सडक निर्माण गरिरहेका छौं ।

चुनावताका जनतासामु प्रतिवद्धताहरू कति पुरा भए त ?
– चुनावताका जनतासामु प्रस्तुत गरेका मध्ये धेरै प्रतिवद्धता पुरा गरिसकेका छौं । जस्तो तटबन्धन निर्माण कार्य शुरु भइसकेको छ । पुलहरू बनिरहेका छन् । कैयौं ठाउ“मा झोलुंगे पुल बन्दै छन् । अस्पताल बन्दै छ । खानेपानी आयोजना अगाडि बढाएका छौं । सडक बन्दै छन् । कृषिका कार्यक्रम लागू गर्दैछौं । चुनावताका प्रतिवद्धता गरेको मध्ये बेरोजगारी समस्या समाधानको विषय बाहेक सबै कुरा अगाडि बढाएका छौं । बेरोजगारी समस्या र सुकुम्बासी समस्या मात्रै हामीले छुन सकेका छैनौं । यो विषयमा संघीय सरकारले काम गर्दै छ । यो काममा हामीले संघीय सरकारलाई सहयोग गर्छौं ।

लम्कीचुहा नगरपालिकामा शैक्षिक विकासका लागि के गर्दै हुनुहुन्छ ?
– लम्कीचुहा नगरपालिकाले शिक्षा नीति बनाइसकेका छ । शिक्षा ऐन र नियमावली पनि बनेको छ । संघीय सरकारले शिक्षा नीति बनाइसकेपछि हामीले तुरुन्त यसलाई कार्यान्वयन गर्ने छौं । गुणस्तरीय शिक्षाका लागि हामीले आधारभूत संरचनाहरू तयार गरिसकेका छौं ।

मुलुक संघीयतामा गएपछि नयाँ संरचना अनुसार काम गर्न कत्तिको सहज छ ?
– नया“ संरचनामा हामीले धेरै काम चाहेर पनि गर्न सकेका छैनौ । केही कठिनाई छन् । हामी सिक्ने चरणमा छौं । त्यसैले धेरै आत्तिएका छैनौं । विस्तारै सबै चुनौती र कठिनाइ समाधान हुँदै जानेछन् । हामीले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढिरहेका छौं ।

लम्कीचुहा नगरपालिकाका प्रमुख प्राथमिकता के के हुन् ?
– लम्कीचुहामा डम्पिङ साइट, कालोपत्रे र पार्क निर्माण ठूला योजनाका रूपमा रहेका छन् । चिसापानी पर्यटकीय क्षेत्रको विकास लगायतका काममा हामीलाई प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्छ । लम्कीचुहा नगरपालिकाको चालू आर्थिक वर्षको बजेट ७१ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये विकासका लागि २८ करोड रुपैयाँ मात्रै बजेट हो । यसपालीको बजेटमा वडापालिकाका र नगरपालिकाका भवन निर्माणलाई प्राथमिकता दिएका छौं । सडक, शिक्षा, खानेपानी, अस्पताल, अत्याधुनिक नगर उद्यान, बसपार्क लगायतका योजनालाई प्राथमिकतामा राखेर काम गर्दै छौं ।

अधिकांस नगरपालिकामा जनताले कर आतंकको गुनासो गरिरहेका छन् । लम्कीचुहा नगरपालिकाले चाही के गरेको छ नि ?
– हामीले कर संकलनको नयाँ प्रणाली विकास गरेका छौं । कर सबैमा पुग्ने, तर थोरै कर लिने व्यवस्था गरेका छौं । यसले गर्दा कर धेरै उठ्ने अपेक्षा लिएका छौं । हुने खानेहरूसँग कर लिने र नहुनेहरूलाई अनुदान दिने नीति लिएका छौं ।

सहकारी संस्था तथा नगरपालिकामा कर्मचारी व्यवस्थापनको अवस्था कस्तो छ ?
– हामीले सहकारी संस्थाहरूलाई उत्पादनमुखी बनाउने योजना लिएका छौं । संघीय सहकारी ऐन आइसकेपछि हामीले पनि स्थानीय सहकारी ऐन बनाएर व्यवस्थित गर्नेछौं । लम्कीचुहा नगरपालिकामा कर्मचारी कम छन् । सबै शाखामा पर्याप्त कर्मचारी नहु“दा विकास योजनाहरू कार्यान्वयन गर्न कठिनाई भइरहेको छ । संघीय सरकारले कर्मचारी समायोजन प्रक्रिया शुरु गरेको छ । कर्मचारी समायोजनपछि यो समस्या समाधान हुने आशा लिएका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार