५ जेष्ठ २०८१, शनिबार

बैदेशिक राेजगार सम्बन्धी सबै सेवा ६ महिनामा दिइने: मन्त्री सुवेदी (भिडियाेसहित)



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण सेवाहरु आगामी ६ महिनामा धनगढीबाट दिइने बताएका छन् ।
श्रम तथा रोगजार कार्यालय धनगढीमा स्थापना गरिएको बैदेशिक रोजगार डेस्क शुक्रबार उद्घाटन गर्दै मन्त्री सुवेदीले श्रम स्वीकृति लगायत बैदेशिक रोजगार विभागले दिने सम्पूर्ण सेवाहरु धनगढीबाटै दिनको लागि पहल भइरहेको बताए । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसंग आउँदो ६ महिनामा अन्य सेवा विस्तारको लागि छलफल भएको बताए ।
उनले प्रदेश मन्त्रालयले पनि सुदूरपश्चिमका युवाहरुलाई प्रदेशबाटै बैदेशिक रोजगार सम्बन्धी सेवा दिने चाहना लिएर काम गरिरहेको बताए । बैदेशिक रोजगारमा जाँदा पुनः श्रम स्वीकृति लिन काठमाडौं जाने बाध्यता गरेकोमा मन्त्री सुवेदीले खुशी व्यक्त गरे ।
सामाजिक विकास मन्त्रालयका सचिव ई. गोगनबहादुर हमालले बैदेशिक रोजगार जाने युवाहरुलाई प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था गरिनुपर्ने बताए । त्यसका लागि आवश्यक सुरक्षा प्रणालीहरुलाई व्यवस्थित गर्न आवश्यक रहेको उनले बताए ।

श्रम तथा रोजगार कार्यालय धनगढीमा निमित्त प्रमुख कृष्णानन्द जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा डेस्कका दुई जना सेवाग्राहीहरुलाई पुनः श्रम स्वीकृति दिइएको थियो ।

डेस्कका पहिलो सेवाग्राही गौरीगंगा नगरपालिका–६, वनबेहडाका गोरखबहादुर खवासले धनगढीबाट पुनः श्रम स्वीकृति पाउँदा आफ्नै घरबाट सेपा पाए जस्तो लागेको बताए । उनले काठमाडौंमा जाँदा सेवा पाउन निकै कठिन भएको र धेरै खर्च लाग्ने गरेको अनुभव सुनाए । मलेसियाबाट विदामा घर फर्किएका खवासले धनगढीबाट पुनः श्रम स्वीकृति पाउँदा निकै सहज र खर्च नगरिकनै पाएको बताए ।

डेस्कका दोस्रो सेवाग्राही धनगढी–२ बैह्याबेहडीका दानबहादुर सिंहले धनगढीबाटै पुनः स्वीकृति पाएपछि निकै खुशी भएको बताए । उनले पैसा, समयको बचत हुनुका साथै थप केहि दिन परिवारसंग बस्ने मौका पाएको बताए ।
बैदेशिक रोजगार विभागले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट पुनः श्रम स्वीकृति सेवा प्रदान गर्न थालेपछि अब प्रदेश १ मा मात्रै सो सेवा विस्तार हुन बाँकी छ । हाललाई डेस्कबाट विदामा घर फर्किएका आप्रवासी कामदारलाई पुनः श्रम स्वीकृति दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार