धनगढीबाट पुनः श्रम स्वीकृत भोलिदेखि
धनगढी । बैदेशिक रोजगारबाट विदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरुलाई पुनः श्रम स्वीकृति शुक्रबारबाट दिइने भएको छ ।
श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख कृष्णानन्द जोशीले शुक्रबार बिहान एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिने बताएका हुन् । धनगढीबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि सुदूरपश्चिमका युवाहरुलाई काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने छ ।
बैदेशिक रोगजार विभागबाट आएको टोलीले पुनः श्रम स्वीकृति दिनका लागि सर्भर र सफ्टवेयर ईनश्टल गरी जाँच गरेपछि तयारी पुरा भएको जोशीले बताए । श्रम कार्यालयका सूचना अधिकारी जयदेव विष्टले विभागले एक जना भाषा अनुवादक पठाएको र एक जना कम्प्युटर अपरेटर कार्यालयले नियुक्त गरेको बताए । उनले शुक्रबार बिहान सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्ने बताए ।

श्रम कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेपनि एक जना निमित्त प्रमुख र एक जना सुब्बा मात्रै कार्यरत छन् । करारमा दुई जना कार्यालय सहयोगी राखेर श्रम कार्यालय सञ्चालन गरिएको छ । कार्यालयमा उपसचिवको दरबन्दी रहेपनि सरकारले नपठाउँदा निमित्तको भरमा श्रम कार्यालय चलेको छ ।
सामाजिक विकास मन्त्रालय मातहतको श्रम तथा रोजगार कार्यायमा रहेको रोजगार सूचना केन्द्रको कक्षबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ । बैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाग गुरागाइँले पुनः श्रम स्वीकृति दिने कामसबै प्रदेशमा गति लिएपछि बाँकी सेवा विस्तारको लागि प्रक्रिया अगाडि बढाइने बताए ।
बैदेशिक रोजगार विभागले यसअघि सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ बाहेकमा पुनः श्रम स्वीकृत दिन थालेको छ । विभागका अनुसार प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेत श्रम कार्यालयबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।





