भारतद्वारा सीमानामा अनधिकृत रूपमा नाली खनिदै
धनगढी । नेपाल भारत सिमा जोड्ने कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारमा भारतीय पक्षले विना अनुमति नाली तथा तारजाली निर्माण गर्न लागेको छ ।
सिमा स्तम्भ नम्बर १५३ देखि १७१ मा पर्ने दशगाजामा डोजर प्रयोग गरेर भारतीय पक्षले झण्डै दुई किलो मिटरसम्म नाली निर्माण तथा तारजाली गर्न लागेको हो ।
तीन चार दिनदेखि आधाभन्दा बढी नाली निर्माणका लागि खाल्डो खनेको गुनासो आएपछि आज नेपाली सुरक्षा समितिले सो कार्य रोक्न अनुरोध गरेको थियो । बिहिबार भने सो क्षेत्रमा कुनै काम अघि नबढेको कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।
दुधवा राष्ट्रिय निकुञ्जका वन रक्षक मनोज कुमारले चोरी शिकारी, अवैध तस्करी नियन्त्रण गर्न सो क्षेत्रमा नाली तथा तारजाली निर्माण गर्न लागिएको बताए । उनले आफनै सिमानामा जैविक मार्गलाई अप्ठ्यारो नपर्ने गरि सो नाली निर्माण गर्न लागिएको बताए ।