१ जेष्ठ २०८१, मंगलवार

सडक निर्माणका नाममा चुरेमा अवैध रुपमा रुख कटानी



  • बाक्लो रुख भएका ठाउबाटै सडक ट्रयाक निकालिदै

  • ट्रयाक निकाल्ने, स्थगित गर्ने र फेरि अर्को ठाउँबाट ट्रयाक निकाल्ने

  • रुख काट्नकै लागि अग्नीरेखाको निर्माण

  • अनुमति नलिएरै अन्धाधुन्ध रुपमा रुख काटिंदै

  • सामुदायिक बनका पदाधिकारी र ठेकदारहरूबीच मिलेमतो

धनगढी । कैलाली जिल्लाको पहाडी गाउँपालिका हो, चुरे । भौगोलिक रुपमा दुर्गम । अहिले त्यहाँ वडा तथा वस्तीहरु जोड्न धमाधम सडक काट्ने काम भइरहेको छ । धनगढीबाट स्थलगत रिपोर्टिङका लागि पत्रकारको टोली फल्टुडेबाट बयला हुँदै ३५ किलाेमिटर टाढा पुग्दा गाउँ जोड्ने सडक काटिएको थियो । सडकका छेउछाउमा रुखका बुट्यान, साना तथा ठूला रुख काटिएका थिए ।
ग्रामीण सडक मर्मत, नयाँ ट्रयाक निर्माण र वैज्ञानिक वन व्यवस्थापन गर्ने नाममा अनुमति बिना नै रुखहरू काटिएको पाइएको छ । चुरे गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने शिद्ध प्रगतिशिल सामुदायिक वन र शिद्धलगन सामुदायिक वन क्षेत्रमा पत्रकारको टोली पुग्दा सडकका किनारमा कतै घाटगद्दी बनाएर काटिएका रुखका गोलिया राखिएका थिए भने कतै माटोले छोपेर लुकाइएका थिए ।
सामुदायिक वन र सडक निर्माणको ठेक्का पाएका ठेकेदारहरुकै मिलेमतोमा अवैध रुपमा रुख कटानी भइरहेको स्थानीयको आरोप छ । चुरे गाउँपालिकाले सडकमा पर्ने रुख कटानीका लागि वन कार्यालयसंग कुनै पनि किसिमको अनुमति लिएको छैन । गाउ“पालिका अध्यक्ष धनबहादुर रोक्कामगरले पनि सडकमा पर्ने रुख काट्नका लागि अनुमति नलिएको स्वीकार गरे । दुईवटा सामुदायिक वनको क्षेत्रमा कटान भइरहेको सडकमा बिना अनुमति एक सयभन्दा बढी रुख काटिएको स्थानीयले बताए ।

सब डिभिजन वन कार्यालय, सहजपुरका वन रक्षक डम्मरराज भट्टका अनुसार शिद्धलगन सामुदायिक वनको गोगनपानी–आमापानी सडकमा २५ वटा रुख काटिएका छन् । ‘जहा“ बढी रुख छन्, त्यही क्षेत्र हु“दै सडक काटिएको छ’ उनले भने– सडकको सिमानाभन्दा बाहिरको क्षेत्रमा पनि रुखहरु काटिएका छन् । सो सडक अन्तर्गत एक ठाउ“मा खाल्डोमा काठ लुकाएर राखेको फेला परेको छ । केही ठाउँमा सडककै माटोले ठूला–ठूला साल तथा सल्लाका रुखका गोलिया लुकाएर राखेको पाइएको छ ।

सिद्ध लगन सामुदायिक वनका अध्यक्ष लालबहादुर साउ“दले सडकमा परेका रुखहरु काटिएको स्वीकार गरे । ‘सडक छेउमा परेका रुखहरु काटिएका छन्’ उनले भने– तर, रुख काट्नका लागि अनुमति भने लिइएको छैन । यो सामुदायिक वनमा रुख काट्न कै लागि जथाभावी केही ठाउँमा ट्रयाक खोल्ने र फेरि त्यहा स्थगित गरेर अर्कोतिरबाट सडक काटिएको पनि भेटिएको छ ।
यस्तै, शिद्धप्रगतिशिल सामुदायिक वनमा पनि व्यापक रुख कटानी गरिएको पाइएको छ । कतिपय रुखहरु काटिसकेपछि लुकाइएको र चिरान पनि गरिसकेको स्थानीय बताउ“छन् । एक स्थानीयले नाम नभन्ने शर्तमा पुरानो रुख देखाउनका लागि रुख काटिसकेपछि फेदमा आगोसमेत लगाइएको र केही गोलिया खाल्डामा लुकाइएको बताए । सिद्धप्रगतिशील सामुदायिक बनमा निर्माणाधीन सडकमा ६० बढी रुख काटिएको छ । तर, सब–डिभिजन वन कार्यालय सहजपुरका फोरेष्टर पदमराज ओझाले सुन्तलाबारीदेखि गजार क्षेत्रमा पाँच रुख र बाहुनपानी क्षेत्रमा २५ रुख मात्र काटिएको बताए ।

स्थानीयकाअनुसार शिद्धप्रगतिशिल सामुदायिक वनमा व्यापक रुख काटिएको हल्ला फैलिएपछि वन कार्यालयका कर्मचारीहरुले त्यहाँको अनुगमन गरेका हुन् । तर, त्यसभन्दा अगाडि नै वन कटानीमा संलग्न रहेकाहरुले काटिएको रुख लुकाएको र केही चिरानीसमेत गरिरहेको बताइएको छ । त्यस क्षेत्रमा सुन्तलाबारीदेखि यता शिद्धलगन सामुदायिक वनसम्म धेरै रुखहरु काटिएका छन् । यस क्षेत्रमा कति रुख काटिएका छन् ? भन्ने वन कार्यालयलाई समेत जानकारी रहेको छैन । यस्तै, सोही वनमा अग्नी रेखा (फायर लाइन) का लागि काटिएको एक किलोमिटर बाटोमा मात्रै २० भन्दा बढी रुख काटिएका छन् । ‘अग्नी रेखा निकाल्ने भन्ने थियो,’ फोरेस्टर ओझाले भने– त्यहा पनि २० रुख काटिएको रहेछ । स्थानीयहरू भन्छन्– एक किलोमिटरको छोटो दूरीमा अग्नीरेखा बनाउन यति धेरै रुख काटिनुले रुख काट्नका लागि मात्रै यो सामुदायिक बनमा अग्नी रेखाको बहाना बनाइएकोे पुष्टि हुन्छ ।
वनको अनुगमन टोलीले बुधबार मात्रै यही सामुदायिक वनमा चिरान गरेको पटरासमेत बरामद गरेको छ । सडकको चौडाई चार मिटर तोकिए पनि रुख काट्नकै लागि अधिकांस ठाउमा सडकको चौडाई चार मिटर भन्दा निकै बढी रहेको छ ।

शिद्धप्रगतिशिल सामुदायिक वनमा व्यापक रुख फडानी भएपछि वन कार्यालयले सामुदायिक वन र सडक निर्माण समितिका अध्यक्ष गरि दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । शिद्धप्रगतिशिल सामुदायिक वनका अध्यक्ष हर्कबहादुर साउ“द र सडक निर्माण समितिका अध्यक्ष ज्ञानसिंह धामीलाई वन कार्यालयले हिरासतमा राखेर कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यी दुबै सामुदायिक वनमा गत वर्षदेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ । सामुदायिक वनहरुले टाँचा नलगाइएका रुखहरु पनि कटान गरिएको र बढी रुख काटेर कम काटेको देखाइएको स्थानीयबासी बताउँछन् ।
कैलाली बन सवडिभिजन कार्यालय प्रमुख अम्मरबहादुर बुलनले कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा सडक मर्मत, नयाँ ट्रयाक खोल्ने लगायतको नाममा विना अनुमति रुख कटानी गरिरहेको बताए । उनका अनुसार मोहन्याल गाउ“पालिकामा ४१ वटा रुख काटिएको तथ्यांक वन कार्यालयसंग रहेको छ भने चुरेमा काटिएको रुखहरुबारे अध्ययन भइरहेको छ ।उनले अरु स्थानीय तहमा पनि सडक निर्माण तथा अन्य कामका लागि रुख काटिएको छ वा छैन भन्नेबारे मातहतका कार्यालयहरूलाई यस सम्बन्धी अध्ययन गर्न निर्देशन दिइसकेको बताए । बन सवडिभिजन कार्यालय प्रमुख बुलनले धनगढी उपमहानगरपालिकाले मात्र अहिलेसम्म वन कार्यालयसंग रुख कटानीका लागि अनुरोध सहित पत्र पठाएको बताए । उनले अहिले विद्यालय, सडक, वडा कार्यालय निर्माण लगायतका नाममा रुख काटिनुका साथै अतिक्रमणले वन संरक्षणमा चुनौति थपिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार