वर्षा र हिमपातका कारण जनजीवन प्रभावित (अागामी तीन दिनको माैषम पुर्वानुमानसहित)
धनगढी । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमपात र तराइँका जिल्लामा वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
सुदूरपश्चिमको डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएको हो । हिमपात भएसगै भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ ।
सोमबार रातिदेखि सुदूरपश्चिममा पानी परिरहेको छ । पहाडी भूभागमा भने राति पानी परिसकेपछि हिमपात शुरु भएको छ । तराइँमा बिहानसम्म पानी परेको थियो भने दिउँसो छिटफुट घाम लागेको भएपनि हावा वतास चलिरहेको छ ।
पहाडमा हिमपातका कारण चिसो बढेको छ भने तराइँमा हावा बतासका कारण अत्यधिक चिसो महसुस भइरहेको छ । जल तथा मौषम पुर्वानुमान विभागले सोमबार राति डडेल्धुरामा ४५ मिलिलिटर वर्षा भएको जनाएको छ । विभागमा अनुसार सोही अवधिमा दिपायलमा ३५ र धनगढीमा १० मिलिलिटर वर्षा भएको छ ।
विभागले मंगलबार बिहान गरेको वेव अपडेट अनुसार सोमबार राति डडेल्धुराको न्युनतम तापक्रम शुन्य दशमलव २ डिग्री सेल्सियस र दिपालयको न्युनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस र धनगढीको न्युनतम तापक्रम १२ डिग्री सेल्सियस थियो । विभागले दिउँसो तापक्रम डडेल्धुरामा १८ दशमलव ८, दिपायलमा २३ दशमलव ३ र धनगढीमा २३ दशमलव ६ डिग्री सेल्सियस छ ।
जल तथा मौषम पुर्वानुमान विभागले सुदूर तथा मध्यपश्चिममा मौषम अझै केहि दिन बदली रहने जनाएको छ ।
जल तथा माैषम विभागले गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/०८ देखि २०७५/१०/१०)
जारी समयः बिहान ६:०० बजे
जारी मिति : माघ ०८ गते (मंगलवार) बिहान ६:०० बजे
माघ ०८ गते (मंगलवार)
दिउँसो: देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिः देशको पहाडी भुभागमा सामान्य देखि पुर्ण बदलि र बाँकी भुभागमा सामान्य बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमि र मध्यका हिमालि भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ ०९ गते (बुधवार)
दिउँसो: देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
माघ १० गते (बिहिवार)
दिउँसो: देशको पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली, पुर्वी तथा मध्यका पहाडी भुभागमा आंसिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ |
रातिः देशको पहाडी भुभागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ तथापि मध्यरात पश्चात देशभरी आंसिक बदली रहने संभावना छ |