३ जेष्ठ २०८१, बिहीबार

उत्तरप्रदेशका मुख्यमन्त्री गौरीफन्टा नाका स्तरोन्नतिमा सकारात्मक



धनगढी । भारतको उत्तर प्रदेश प्रान्तका मुख्यमन्त्री योगी आदित्यनाथले कैलालीको गौरीफन्टा नाका स्तरोन्नतिका लागि आफू सकारात्मक रहेको बताएका छन् । नेपाल उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलसंगको भेटवार्तामा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले र नेपाल–भारत मैत्री बस सेवा समेत सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वको प्रतिनिधिमण्डलसंगको भेटमा मुख्यमन्त्री आदित्यनाथले उत्तर प्रदेश र नेपालबीचको सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको बताएका थिए ।

प्रतिनिधिमण्डलमा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बोगटी सहितका पदाधिकारी र कैलालीका यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
नेपाली उद्योगी, व्यवसायीहरुले मुख्यमन्त्री आदित्यनाथलाई गौरीफन्टा नाकाको स्तरोन्नति र नेपाल–भारत मैत्री बस सञ्चालनका लागि आग्रह गरेका थिए ।
प्रतिनिधिमण्डलमा सहभागी कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष बोगटीले भेटवार्तामा मुख्यमन्त्री आदित्यनाथले गौरीफन्टा नाका स्तरोन्नतिबारे निकट भविष्यमा स्थलगत भ्रमण समेत गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपाल–भारत मैत्री बस सेवा सञ्चालन योजनालाई कार्यान्वयनमा लैजान आफ्ना मुख्य सचिवलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको पनि कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार