२६ पुष २०८१, शुक्रबार

ढुंगा, गिट्टी, बालुवामा मनोमानी शुल्क असुल गरिँदै



सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा ढुंगा, बालुवा, गिट्टी, माटो, ग्राभेलमा नियम विपरित कर लिने गरिएको छ ।
घोडाघोडी नगरपालिकाभित्र ढुंगा, बालुवा, गिट्टी, ग्राभेल तथा माटो निकासीमा कर असुल गर्ने ठेक्का पाएको एमके बिल्डर्स एण्ड कन्स्ट्रक्सन कम्पनी, धनगढीले नगरपालिकासँग गरेको सम्झौताभन्दा निकै बढी रकम असुल गरिरहेको पाइएको छ ।
ढुंगा, गिट्टी, बालुवा, ग्राभेल निकासीमा प्रति घनमिटर मूल्य अभिबृद्धि करसहित ८४ रुपैयाँ ७५ पैसा रकम लिनुपर्नेमा निकै बढी रकम असुल गरिरहेको पाइएको छ ।सामान्यतया: ट्याक्टर ट्रालीमा चार घनमिटर बालुवा, गिट्टी, ढुंगा, ग्राभेल ढुवानी हुने गर्दछ । नगरपालिकासँग गरिएको सम्झौता अनुसार प्रति ट्याक्टर ट्राली तीन सय ३९ रुपैयाँ रकम लिनु पर्नेमा ठेकेदारले चार सय २५ रुपैयाँ लिने गरेको छ ।
ट्याक्टर धनी किरण चौधरीले ठेकेदारले आफूहरूसँग पाँच घनमिटरको रकम लिने गरेको गुनासो गरे । उनले ट्याक्टर ट्रालीमा बढीमा चार घनमिटर मात्र क्षमता रहेको बताए ।
ठेकेदार जनक शाहले पाँच घनमिटरलाई आधार मानेर रसीद काट्ने गरेको बताए । उनले सधैं सबै ट्रालीको नापजोख सम्भव नहुने भएकाले पाँच घनमिटर मानेर रकम लिइरहेको बताए ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले ट्याक्टर व्यावसायीहरूबाट गुनासो आएपछि ठेकेदारसँग छलफल गरिएको बताए । नगर प्रमुख चौधरीले ठेकेदारले सम्झौता अनुसार काम नगरे कारबाही गरिने बताए ।
घोडाघोडी नगरपालिकाले एमके बिल्डर्स एण्ड कन्स्ट्रक्सन कम्पनीसँग गत असोज ९ गते नौ महिनाका लागि बालुवा, ढुंगा, माटो, गिट्टी तथा ग्राभेल निकासीमा कर संकलन गर्न एक करोड ३४ लाख ९० हजार पाँच सय रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार