२६ पुष २०८१, शुक्रबार

मोलमोलाई गरी बैदेशिक रोजगारमा जाँदाः रकम जोगियो, राम्रो कमाई भयो



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३, झिलगाउँका प्रेमबहादुर साउले वैदेशिक रोजगारीमा जाने सोच बनाए । वैदेशिक रोजगारीमा जानका लागि उनले म्यानपावर कम्पनीसंग कुरा गरे । म्यानपावर कम्पनीले प्रेमलाई कतार पठाउने बतायो र ६० हजार रुपैयाँ माग्यो । प्रेमले प्रक्रिया पुरा भएपछि सो क्रम्पनीसंग मोलमोलाई गरे र अन्त्यमा १० हजार रुपैयाँमा कुरा मिल्यो । उनी म्यानपावर कम्पनीलाई दश हजार रुपैयाँ मात्रै दिएर बैदेशिक रोजगारका लागि कतार गए । 

बैदेशिक रोजगारमा जान चाहने र गएर फर्केका युवाहरूलार्इ बैदेशिक रोजगारबारे जानकारी दिइदै । फाइल तस्वीर

बैदेशिक रोजगारमा जानेहरु प्राय: म्यानपावर कम्पनी तथा दलालहरुबाट ठगिने गरेकोमा प्रेम सचेत थिए । उनले सञ्चार प्रतिष्ठान नेपाल, कैलालीले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाका रिटर्नी भोलेन्टियर चन्द्रप्रसाद कँडेलसंग म्यानपावर कम्पनीसंग मोलमोलाई गर्ने तरिका पनि सिकेका थिए । “मोलमोलाई गर्ने सीपज्ञान भएका कारण नै उहाँ (प्रेमबहादुर) ले कतार जाने क्रमा ५० हजार रुपैयाँ जोगाउन सक्नुभयो” उनकी श्रीमती धना बिष्ट साउदले भनिन् ।
सुरक्षित आप्रवासन परियोजनाको विभिन्न कार्यक्रममा सहभागी भएकी धनालाई पनि मोलमोलाई गर्ने तरिका र फ्रि भिसा फ्रि टिकटबारे जानकारी थियो । उनी र उनका श्रीमानलाई मोलमोलाई सीप भएका कारण म्यानपावर कम्पनीले शुरुमा ६० हजार रुपैया मागेकोमा पछि १० हजार रुपैयाँमा कुरा मिलेको थियो ।
रिटर्नी भोलेन्टियर कँडेलका अनुसार प्रेमबहादुरले कतारमा शुरुमा सेल्सम्यानको जागिर पाएकोमा हाल पदोन्नती भएर सुपरभाइजर भएका छन् । उनको मासिक तलब साढे पाँच हजार कतारी रियाल रहेको छ ।
कैलालीमा पछिल्लो समयमा बैदेशिक रोजगारमा जान चाहने नेपाली कामदारले म्यानपावर कम्पनीहरुसंग मोलमोलाई गरेर न्युन रकममा जाने गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दिनेशकुमार टेलरले पनि मलेसिया जाादा ३० हजार रुपैयाँ मात्रै तिरेका थिए । उनलाई रिटर्नी स्वयंसेवक श्यामकुमार देवलले मोलमोलाई गर्ने तरिका र फ्रि भिसा, फ्रि टिकटबारे जानकारी दिएका थिए ।
रिटर्नी स्वयंसेवक देवलका अनुसार दिनेशले मलेसियाको रेडियोको पार्टस् बनाउने कम्पनीमा दिउसोको ड्युटी परेको महिनामा ४० हजार र रातिको ड्युटी परेको महिनामा ५० हजार नेपाली रुपैयाँ मासिक तलब पाउने गरेका छन् ।
कैलालीकै टीकापुर नगरपालिका वडा नम्बर १ का लक्ष्मण साउदसंग म्यानपावर कम्पनीले विदेश पठाउन शुरुमा एक लाख २० हजार रुपैयाँ मागेको थियो । तर, लक्ष्मणले मोलमोलाई गरि अन्त्यमा ४५ हजार रुपैयाँ मात्रै तिरेर कतार जान पाए । उनलाई रिटर्नी स्वयंसेवक धनबहादुर बुढामगरले मोलमोलाईको तरिका र फ्रि भिसा फ्रि टिकटबारे जानकारी दिएका थिए । लक्ष्मणले हाल मासिक ६० हजार नेपाली रुपैयाँ कमाउने गरेका छन् ।
प्राविधिक काम गर्न जानेले मात्रै नभई निर्माण काममा मजदूरी गर्न गएका कैलालीका अधिकांस कामदारहरुले बैदेशिक रोजगारमा जाँदा मोलमोलाई गरी ठूलो धनराशी बचत गर्नुका साथै विदेशमा पनि राम्रो कमाई गरिरहेका छन् । सुरक्षित आप्रवासन परियोजनाको समुदायस्तरीय कार्यक्रममा सहभागी भएर र रिटर्नी स्वयंसेवकहरुले व्यक्तिगत भेटमा जानकारी दिएकाले उनीहरुले मोलमोलाईका तरिका र फ्रि भिसा फ्रि टिकटको बारेमा जानकारी पाएका छन् ।
परियोजनाको गत एक वर्षको तथ्यांक अनुसार ४५ जनाले बैदेशिक रोजगारमा जाँदा १० लाख ३९ हजार रुपैयाँ जोगाएका छन् । उनीहरुसंग विभिन्न म्यानपावर कम्पनीहरुले शुरुमा ३७ लाख ३९ हजार रुपैयाँ माग गरेकोमा २७ लाख २० हजार रुपैयाँ तिरेका छन् ।
हाल सुरक्षित आप्रवासन परियोजनको सामाजिक परिचालन कार्यक्रम नभएपनि जिल्ला प्रशासन कार्यालय धनगढी र इलाका प्रशासन कार्यालय टीकापुरमा आप्रवासी स्रोत केन्द्र (तत्कालीन सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र) सञ्चालन गरिरहेको छ । बैदेशिक रोजगारमा जाने युवाहरुको संख्या धेरै भएपनि कतिले मोलमोलाई गरी गए भन्ने एकीन तथ्यांक नरहको स्रोत केन्द्रकी परामर्शकर्ता लक्ष्मी चौधरीले बताइन् ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका अध्यक्ष नारायणबहादुर विकले आफूहरुसंग आउने गरेको घटनाहरु समाधानका लागि सूचना केन्द्र पठाउने गरेको बताए । उनले स्थानीयस्तरमा मिलाउन सकिने घटनाहरु स्थानीय तहका जनप्रतिनिधिहरुको रोहबारमा छिनोफानो गर्ने गरेको बताए । मोलमोलाई गरी बैदेशिक रोजगारमा जाने क्रम बढेको भएपनि तथ्यांक राख्न नसकिएको अध्यक्ष विकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार