पेट्रोल कालोबजारी गर्ने व्यापारी मुक्त
सुखड । इलाका प्रहरी कार्यालय सुखडले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने खुद्रा व्यापारीहरूलाई बिना कारवाही छोडेको छ ।
प्रहरी कार्यालय सुखडले नगरपालिकाभित्र राजमार्ग क्षेत्रमा गस्ती गर्ने क्रममा १२ वटा खुद्रा पसलमा खुलेआम बढी मूल्यमा पेट्रोल विक्री भइरहेको फेला पारेको थियो । प्रहरीले ती पसलबाट पेट्रोल बरामद गरे पनि व्यापारीलाई भने कुनै कारवाही नगरी छोडेको छ । ईलाका प्रहरी कार्यालय सुखडले १२ वटा पसलबाट एक सय लिटर बढी पेट्रोल बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यज्ञराज जोशीले व्यापारीलाई सम्झाईबुझाई छोडेको बताए ।
उनले घोडाघोडी नगरपालिका वडा नम्बर १, २, ३, ७, ११ र १२ मा रहेका खुद्रा पसलमा बेच्न भनि राखिएका पेट्रोलका जर्किन र बोतल बरामद गरिएको बताए । इलाका प्रहरी कार्यालय इञ्चार्ज जोशीले आगामी दिनमा फेरि त्यस्तो गरेको खण्डमा ती व्यापारीहरूलाई कानून बमोजिम कारवाही गरिने बताए ।
सुखडसहित राजमार्गका बजारहरूमा पछिल्ला दिनमा पेट्रोलको खुलेआम कालोबजारी भइरहेको छ । घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक लक्ष्मीप्रसाद भट्टराईले राजमार्ग क्षेत्रमा पेट्रोलको कालोबजारी बढिरहेको बताए । “पेट्रोल पम्पमा जाँदा पेट्रोल पाइदैन, त छेउमा खुलेआम बढी मूल्यमा बिक्री भइरहेको हुन्छ” उनले प्रशासन, प्रहरी र सरोकारवालाहरूको उदासिनताका कारण कालोबजारी मौलाएको बताए ।
स्थानीयका अनुसार खुद्रा पसलका व्यापारीहरूले एक लिटरको एक सय ३० देखि एक सय ४० रुपैयाँमा बेच्ने गरेका छन् । पेट्रोलको वास्तविक मूल्य प्रति लिटर एक सय १० रुपैयाँ रहेको छ ।