२६ पुष २०८१, शुक्रबार

सफल तरकारी किसान



अछाम । साँफेबगर नगरपालिका–३ का प्रसादसिंह कुँवरले व्यवसायिक रूपमा तरकारी खेती गर्न थालेको झण्डै ५ दशक पुग्यो । तरकारी खेतीबाट उनी वार्षिक रूपमा १ देखि २ लाखसम्म आम्दानी गर्छन् ।
७३ वर्षिया उनले बारीमा मौसम तथा बेमौसमी तरकारी लगाएका छन् । सिंगो परिवारलाई नै तरकारी खेतीमा लगाएका उनलाई उत्पादन भन्दा पनि तरकारी खपतका लागि बजारको समस्याले सताउने गथ्र्याे । अब त्यो समस्या समाधान भएको उनले बताए ।
साँफेबगर नगरपालिकाले मसिर १ गते हाटबजार सञ्चालन गरेपछि किसानलाई ठूलो राहत भएको छ उनले भने फलाएका तरकारी डोकोमा बोकेर पसल पसल चाहार्नुपर्ने दिन गए । हाटबजार सञ्चालनले आफू जस्ता कृषहरूमा उत्साह थपेको छ उनले भने ।
साँफेबगर नगरपालिका–७, रिडिकोटकी कमला बुढाले बारीमा तरकारी उत्पादन गरेको भए पनि बजार नपाउँदा कहिलेकाहिं बारीमै कुहिने गरेको बताइन् । वार्षिक रूपमा बुढाले तरकारी खेतीबाट डेढलाख आम्दानी गर्ने गरेकी छन् । उनको घरखर्च छोराछोरीको पढाई समेत तरकारीको आम्दानीले धानेको छ । उनले भनिन्, “मेरो बारीमा मौसमी तरकारी लगाउने गरेको छु । अब हाटबजार लागेपछि बजार नपाएर तरकारी कुहिने छैन ।” उपभोक्ताहरूले पनी ताजा तरकारी खान पाउनेछन् उनले भनिन् ।
लामो समयदेखि तरकारी खेती गरिरहेकी साँफेबगर नगरपालिका–५, नवाठानाकी झुमा बुढाले हाटबजार सञ्चालन भएकोमा निकै खुशी लागेको बताइन् । तरकारीले बजार नपाउँदा समस्यामा परेकाले हाटबजार सञ्चालनले समस्या समाधान हुनेमा आशा पलाएको बताइन् । मैले छ वर्षदेखि तरकारी खेती गरिरहेको छु, बजारमा लिँदा तरकारीले कहिले पनि मूल्य पाएन । कस्ले तरकारी किनी देला भनेर चिन्ता मान्ने दिन गए । जिल्ला बाहिरबाट आएका तरकारीको भन्दा कम मूल्यमा तरकारी बेच्दै आएको थिए । अब तरकारीले मूल्य पाउने आशा गरेको छु, उनले भनिन् ।
साँफेबगरमा महिनाको प्रत्येक शनिबार हाटबजार लाग्ने भएको छ । कृषकहरूले उत्पादन गरेको कृषि उपजहरूले बजार नपाएको ब्यापक गुनासो आएपछि हाटबजार सञ्चालन गरेको नगर प्रमुख कुलबहादुर कुँवरले बताए । कृषकहरूको सहजताका लागि वडाहरूमा पनि हाटबजार सञ्चालन गर्ने छौं, उनले भने हाटबजारमा नियमितरूपमा आएर तरकारी बेच्ने कृषकहरूलाई उत्साह थप्नको लागी पुरस्कृत गर्नेछौं । हाटबजारमा बिक्री नभएका कृषि उपजहरूलाई कृषि शाखाले आफै बजारिकरण गर्नेछ । तरकारीमा आत्मनिर्भर साँफेबगर बनाउन कृषकहरूका लागि विभिन्न कार्यक्रम गरिरहेका छौं, उनले भने । नगरपालिकाले ५ जना अगुवा कृषकहरूलाई नगद ५ हजार सहित पुरस्कृत समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार