१८ बैशाख २०८१, मंगलवार

सरकारी डाक्टरहरूलाई निजी अस्पतालमा काम गर्न रोक



धनगढी । सुदूरपश्चिम सरकारले स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक लगाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रदेश मातहातमा रहेको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई निर्णय कार्यान्वयन गर्न भनेर परिपत्र गरिसकेको छ ।
निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीद्वारा हस्ताक्षरित सो पत्रमा सरकारी डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम नगर्न निर्देशन दिइएको छ ।
उनले स्वास्थ्यकर्मीहरू कार्यालय समयमा निजी क्लिनिकमा जाने गरेको जनगुनासो बढेपछि सो निर्देशन दिइएको बताए । डाक्टर अवस्थीले भने– “प्रदेश सरकारले यो विषयमा नियमित अनुगमन समेत गर्ने भएको छ । निर्देशक डाक्टर अवस्थीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयबाट नियमित र आकस्मिक अनुगमन हुने छ ।”
अनुगमनका क्रममा कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गरेको पाइएमा कारबाही हुने बताइएको छ ।
निर्देशनालयले प्रदेशको उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, प्रदेशभित्रका सम्पूर्ण जिल्ला अस्पताल, टीकापुर, जोगबुढा, गोकुलेश्वर, मालाखेती अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई परिपत्र गरिसकिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार