५ जेष्ठ २०८१, शनिबार

समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन



धनगढी । समाजमा शान्ति सुव्यवस्था बलियो बनाउन तथा जनता र प्रहरीबीच सम्बन्ध सुदृढ बनाउने लक्ष्यसहित नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम लागू गरेको छ । नेपाल प्रहरीले आइतबार देशैभरी यो कार्यक्रम लागू गरेको जनाएको छ ।
अपराधिक, अवाञ्छित तथा उच्छृंखल गतिविधि नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था बलियो बनाउन प्रहरी र समुदायबीच सुदृढ सम्बन्ध बनाउन यस अघि नेपाल प्रहरीले ‘जनतासँग प्रहरी’, ‘टोल–टोलमा प्रहरी’, ‘प्रहरी–नागरिक हातेमालो’, ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘प्रहरीसँग एक दिन’ लगायतका अभियानहरू सञ्चालन गरिरहेको छ । यससँगै नेपाल प्रहरीले शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ आइतबारदेखि राष्ट्रव्यापी रूपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
‘टोल–टोलमा प्रहरी’ अभियानको परिमार्जित रूपमा लागू गरिएको यो कार्यक्रमको क्षेत्राधिकार बढाइएकोले समाजमा शान्ति, सुव्यवस्था सुदृढ गर्न ठोस उपलब्धी प्राप्त हुने सरोकारवालाहरूको अपेक्षा रहेको छ ।
‘हर प्रहर, गाउँ नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशैभरी हरेक टोलमा सञ्चालन गरिने जनाइएको छ ।
आइतबार धनगढीमा आयोजित एक विशेष कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सो अभियानको उद्घाटन गरे । सो अवसरमा मुख्यमन्त्री भट्टले ‘नागरिक सुरक्षा अवधारणाको भिडियो’ क्लिक गर्दै ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री भट्टले समाजका प्रत्येक व्यक्ति अपराधिक, अवाञ्छित तथा उच्छृंखल गतिविधि नियन्त्रणका लागि अगाडि आउन आग्रह गरे ।
मुख्यमन्त्री भट्टले विज्ञान तथा सूचना प्रविधिको गलत प्रयोगका साथै सामाजिक कुरीति र विसंगति लगायतका कारणले अपराधिक गतिविधि नियन्त्रणमा चुनौति थपिएको चर्चा गरे । उनले भने– “यो अभियानले अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने मैले अपेक्षा लिएको छु ।”
मुख्यमन्त्रीले समाजमा दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीको यो कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले समुदाय–प्रहरी साझेदारी अभियानले विद्यार्थी, युवा, ज्येष्ठ नागरिक सबैको सम्बन्ध प्रहरीसँग नजिक बनाउने अपेक्षा गरे ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले महिला हिंसा, बलात्कार, दुव्र्यशन लगायतका घटना न्यूनीकरण गर्न अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक बिक्रमबहादुर चन्दका अनुसार यस अवधारणाले नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था, विद्यालय र मिडियाबीच साझेदारी स्थापना गरी नागरिक प्रहरी र समुदायबीचको सम्बन्ध, अन्तरक्रिया र आत्मनिर्भरताको वहसलाई संरचनागत र प्रणालीगत व्यवस्थापन गरिने छ ।
कार्यक्रममा समुदाय–प्रहरी साझेदारीको औचित्य, आवश्यकता र आधारहरूबारे अवगत गराउँदै वरिष्ठ प्रहरी उपरिक्षक चन्दले सुरक्षा र विकासको अन्तरसम्बन्ध, सामुदायिक प्रहरी र स्थानीय सरकार प्रणालीको सामञ्जस्यता, स्थानीय तह र नेपाल प्रहरीको साझेदारीका आधारहरू, विद्यालय सम्पर्क कार्यक्रमको औचित्य, अपराधमा बालबालिका र युवाको संलग्नता तथा सम्बद्ध जोखिमबारे विश्लेषणात्मक जानकारी दिए ।
उनले साझेदारी संयन्त्र, राष्ट्रिय समन्वय, महत्त्वपूर्ण साझेदारीहरू, सञ्चार साझेदारहरू, अन्तर्राष्ट्रिय साझेदारहरू एकीकृत स्वयंसेवक परिचालनको साथै कार्यक्षेत्र, प्राथमिकता र गतिविधिहरू लगायत विषयमा प्रकाश पार्दै सबैको सहयोग र सहकार्यको अपेक्षा रहेको बताए ।
प्रहरीले यो कार्यक्रमलाई प्रदेशदेखि टोल स्तरसम्म लग्ने जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरिक्षक चन्दका अनुसार यस कार्यक्रम अन्तर्गत प्रदेश, जिल्ला, स्थानीय तह, वडा र टोल गरी पाँच स्थानमा संयन्त्र निर्माण गरिनेछ । भने कार्यक्रमले ‘अपराध रोकथाम’ र ‘सुरक्षा सचेतना’ मा विशेष ध्यान दिने छ ।
कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका सचिव, कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, विभिन्न संघ/संस्थाका पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
उता, कञ्चनपुरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनका क्रममा भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले प्रहरीले सञ्चालन गरेको यो कार्यक्रमलाई पूर्ण सहयोग गरिने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालयले आइतबारदेखि सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख विष्टले यो कार्यक्रमबाट सुरक्षा निकाय र प्रहरीबीच आपसी सम्बन्ध बलियो भएर शान्ति सुरक्षाको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।
उनले प्रहरी र समुदाय मिलेर काम गर्दा अपराधिक गतिविधि कम हुने तथा समाजमा शान्ति सुरक्षामा सुधारमा आउने चर्चा गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रहरी उपरिक्षक कुबेर कडायत, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार