२ जेष्ठ २०८१, बुधबार

भीनपाका छ वडा गहुँ पकेट क्षेत्र



कञ्चनपुर । भीमदत्त नगरपालिकामा गहुँको पकेट क्षेत्र बनाउन छवटा वडा छनौट गरिएका छन् । भीनपा आर्थिक विकास समिति मातहत स्थानीय कृषि कार्यक्रम समन्वय समितिले ६ वडालाई छनौट गरेको हो ।
कृषि ज्ञान केन्द्रले केही दिन अघि गहुँको पकेट वडा छनौटका लागि नगरपालिकालाई पत्र पठाएको थियो ।
केन्द्रको पत्रका आधारमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर ४, ११, १२, १३, १४ र १५ लाई पकेट वडा छनौट गरेको हो । नगरपालिकाले छनौट गरी वडालाई ज्ञान केन्द्रमा पठाउने सूचना अधिकारी हरि सिंह धामीले बताए ।
यसैगरी, बैठकले गहुँ, चरी, च्याउ र आलुको बिऊ खरिद गर्ने निर्णय गरेको छ ।
भीनपा गहुँ, तरकारी र तेलका लागि यसअघि पकेट निर्धारण गरिएको छ । वडा नम्बर १ लाई आलु, ३ र ७ लाई तरकारी तथा १० नम्बर वडालाई तेलका लागि पकेट क्षेत्र निर्धारण गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कृषिको आधुनिकीकरण, यान्त्रिक प्रयोग, बिऊ विजन लगायतका कार्यक्रम सञ्चालन गरी कृषिमा प्रविधि प्रयोग गर्न सुरु गरिएको बताए ।
तेस्रो नगर सभाबाट एक वडा एक उत्पादन पहिचान कार्यक्रम पारित गरिएको छ । गत वर्ष यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।
साविक कृषि विकास कार्यालयमा अहिले कृषि ज्ञान केन्द्र स्थापना गरी कृषि कार्यक्रम सञ्चालन गरिएका हुन् ।
नगर प्रमुख विष्टले केन्द्रसित सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार