५ जेष्ठ २०८१, शनिबार

ग्याँस पट्किदा मिठाई पसलमा आगलागी



कञ्चनपुर । खाना पकाउने ग्याँस पट्किदा कञ्चनपुरको बेलडाँडीको एक मिठाई पसलमा आगजगी भएको छ ।
बेलडाँडी गाउँपालिका–२ बेलडाँडी बजारमा रहेको समैजी डेरी तथा मिठाई भण्डारको स्टोरमा रहेको रेडियण्ट ग्याँस सिलिण्डर बिहिबार राती पटकिएको हो । आगलागीबाट पसलको सामान जलेर नष्ट हुनुका साथै घर चट्किएको छ ।
मिठाई पसलका संचालक बाबु विष्टले दुई दिन अघि रेडियण्ट ग्याँस ल्याएको बताए । उनले आगजगीबाट खाद्यान्न, फर्निचर, भाडाकुण्डा, काठ लगायतका झण्डै चार लाख बराबरको क्षति भएको छ ।
बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापाले आगलागी भएको पसलमा स्थलगत अनुगमन गर्दै आगलागी पीडितलाई गाउँपालिका तर्फबाट सहयोग गरिने बताए । पीडित विष्टलाई घर निर्माणका लागि काठ उपलब्ध गराउन सम्बन्धीत निकायमा पहल गर्ने अध्यक्ष थापाले बताए । उनले गाउँपालिका तर्फबाट राहत एव क्षतिपूर्तिका लागि पहल गरिने प्रतिबद्धता जाहेर गरे ।
बेलडाँडी गाउँपालिकाका सदस्य एव उपभोक्ता शंकर दत्त भट्टले ग्याँस कम्पनीले ग्रामीण भेगतिर म्याद नाघेका ग्याँस पठाएका कारण दुर्घटना हुने गरेको बताए । उनले ग्याँस कम्पनीले नयाँ गुणस्तरीय ग्याँस सिलिण्डर पठाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार