२ जेष्ठ २०८१, बुधबार

एउटै वडाबाट लाखौंको बन्दा निकासी



बैतडी । तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ बाट १० लाख रुपैयाँ भन्दा बढीको बन्दागोभी तरकारी निकासी भएको छ ।
दुई महिनाको अवधिमा वडा नम्बर १ बाट १० लाख रुपैयाँ भन्दा बढीको बन्दागोभी तराईका जिल्लामा निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिए ।
पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध भएपछि उनीहरूको जिविकोपार्जनमा सहज भएको जेटीए पुस्करराज भट्टले बताए ।
अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले वडा नम्बर १ का अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् ।
अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानले पछिल्लो समय तरकारी खेती गरिरहेको शिखर बिउ प्रवद्र्धन केन्द्रका सञ्चालक देवदत्त भट्टले बताए ।
अहिले उपभोग्य सामान किन्नका लागि तरकारी बेचेरै किन्न सकिन्छ भने नजिकैको बजारभन्दा पनि जिल्ला बाहिरसमेत किसानको तरकारी गइरहेको छ ।
प्रतिकिलो २० रुपैयाँका दरले किसानले बन्दा बिक्री गरेको दशरथचन्द नगरपालिका–१ का कृषि जेटीए सविता चन्दले बताए ।
बन्दा लगाउने किसानलाई वडा नम्बर १ को कार्यालयले ५० प्रतिशत अनुदानमा बन्दाको बीऊ उपलब्ध गराएको थियो ।
किसान तरकारी खेतीमा आत्मनिर्भर बन्दा उनीहरूलाई जिविकोपार्जन गर्न सहज भएको छ भने उपभोक्ताले पनि सजिलै तरकारी किन्न पाएका छन् ।
दशरथचन्द नगरपालिका १ का अन्य धेरै किसान समेत तरकारी खेतीबाटै आत्मनिर्भर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार