२ जेष्ठ २०८१, बुधबार

चोरी पैठारी रोकिएन



धनगढी । दशैंतिहारका लागि भारतबाट चिनी, लत्ताकपडा तथा अन्य उपभोग्य सामग्री भित्रिने क्रम तीब्र भएको छ । नेपाल सरकारले असोजदेखि भारतबाट हुने चिनीको पैठारीमा भने रोक लगाएको छ ।
दशैंतिहार नजिकिएसँगै निकटवर्ती भारतीय बजारहरूबाट दैनिक साइकल, रिक्सा, अटोरिक्सा, मोटरसाइकल लगायतका सवारी साधनमा दैनिक ठूलो संख्यामा सर्वसाधारणले चिनी, लत्ताकपडा तथा अन्य उपभोग्य सामान ल्याइरहेका छन् । सरकारले रोक लगाएका कारण भारतबाट वैधानिक रूपमा चिनी पैठारी हुन छोडे पनि फाटफूट रूपमा चोरी आयात भने भइरहेको पाइएको छ ।
कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख गोपीकृष्ण उप्रेतीका अनुसार असोजदेखि वैधानिक रूपमा चिनी पैठारीमा रोक लाग्नु अघि ठूलो परिमाणमा चिनि आयात हुने गरेको थियो ।

फाइल तस्बिर

कैलाली भन्सार कार्यालयका अनुसार गत भदौ महिनामा भारतबाट दुई करोड ३० लाख रुपैयाँ मूल्य बराबरको चार सय १० मेट्रिक टन चिनी आयात भएको थियो । भदौ महिनामा भएको चिनी आयातबाट ९५ लाख दुई हजार रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।
गत आर्थिक वर्ष २०७४/०७५ मा कैलाली भन्सार कार्यालय हुँदै भारतबाट एक हजार पाँच सय ७८ मेट्रिक टन (पाँच करोड ९८ लाख रुपैयाँ मूल्य) चिनी आयात भएको थियो । गत आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले भारतबाट भएको चिनी आयातबाट दुई करोड ४५ लाख रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।
त्यस्तै, चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो तीन महिनाको अवधिमा भारतबाट छ करोड १५ लाख ६९ हजार रुपैयाँ मूल्यको लत्ताकपडा आयात भएकोमा एक करोड ६२ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । कैलाली भन्सारका निमित्त प्रमुख उप्रेतीका अनुसार गत आर्थिक वर्षमा भारतबाट ११ करोड ३३ लाख ५२ हजार छ सय ८६ रुपैयाँको लत्ताकपडा भित्रिएको थियो । सो आर्थिक वर्षमा भारतबाट भएको लत्ताकपडा आयातमा भन्सार कार्यालयले तीन करोड १८ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।
यसैबीच, दशैंतिहारका लागि भारतका विभिन्न शहरमा काम गरेर घर फर्किने नेपालीहरूलाई ध्यानमा राखेर नेपाल–भारतको संयुक्त पहलमा नेपाल भारत सीमा धनगढी–गौरीफन्टामा स्थापना भएको सहायता कक्षका कारण केही भएको छ ।
भारतका विभिन्न शहरबाट गौरीफन्टा हुँदै घर फर्किएका नेपालीहरू विगतको तुलनामा यस पटक सीमानाकामा आफूहरूले केही सहजता अनुभव गरेको बताउँछन् ।
सहायता कक्षमा नेपालको सशस्त्र प्रहरी बल तथा भारतको सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार