५ जेष्ठ २०८१, शनिबार

राजस्व संकलनमा बृद्धि



धनगढी । कैलाली भन्सार कार्यालयले गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा बढि राजस्व संकलन गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कैलाली भन्सार कार्यालयले एक अर्ब १६ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७४/०७५ को पहिलो तीन महिनामा ७९ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
कैलाली भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो तीन महिनाको अवधिमा ८१ प्रतिशत राजस्व संकलन भएको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार असोज महिनामा लक्ष्यभन्दा १०३ प्रतिशत बढी राजस्व संकलन भए पनि साउन र भदौ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको थियो ।

sima naka kailaliफाइल तस्बिर

 

भन्सार कार्यालयका निमित्त प्रमुख गोपिकृष्ण उप्रेतीका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब १६ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । यो अवधिमा बिहीबार (असोज २५ गते) सम्म ९४ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
भन्सार कार्यालयले चालू आर्थिक वर्षको असोजमा ३६ करोड नौ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा बिहीबार (असोज २५ गते) सम्म ३७ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भइसकेको जनाएको छ । निमित्त प्रमुख उप्रेतीले यही दरमा राजस्व संकलन भयो भने असोज मसान्तभित्र ४३ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गर्नुभयो ।
यस वर्षको वर्षायामका दुई महिना साउन र भदौमा भने राजस्व संकलन दरमा कमी आएको थियो । कैलाली भन्सार कार्यालयका अनुसार साउनमा ७७.९३ र भदौमा ८८.८९ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । साउनमा ३७ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य रहेकोमा २९ करोड ३० लाख र भदौमा ४२ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ३८ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा भने चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७४/०७५ को साउन महिनामा कैलाली भन्सार कार्यालयले १९ करोड ४३ लाख, भदौमा २१ करोड ९६ लाख र असोजमा ३४ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
भन्सार कार्यालयका निमित्त प्रमुख उप्रेतीले साउन र भदौ महिनामा विकास निर्माण कार्य कम हुने भएकाले पेट्रोलियम पदार्थ र हार्डवेयर सामग्री कम आयात भएकोले राजस्व संकलनमा पनि कमी आउने गरेको बताए । असोज महिनादेखि भारतबाट हुने आयातमा निकै बृद्धि हुने भएकाले राजस्व संकलन दरमा पनि बढोत्तरी हुने उनले बताए । कैलाली भन्सारको राजस्व संकलनमा पेट्रोलियम पदार्थको योगदान वार्षिक ४३ प्रतिशत रहने गरेको छ ।
कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/०७५ मा तीन अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा चार अर्ब २१ करोड (१०८.४४ प्रतिशत) राजस्व संकलन गरेको थियो । भन्सार कार्यालयले चालू आर्थिक वर्षमा पाँच अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ ।
त्यस्तै, कैलाली भन्सार कार्यालयमा चालू आर्थिक वर्षका पहिलो तीन महिनाको अवधिमा भन्सार छलीका एक सय ६४ वटा मुद्दा दर्ता भएका छन् । भन्सार छलेर भारतबाट भित्र्याइएका व्यापारिक सामग्री बरामद गरेर सशस्त्र प्रहरी बलले भन्सार कार्यालयमा मुद्दा दर्ता गरेको जनाइएको छ । भन्सार छलीका एक सय ६४ मुद्दाबाट एक करोड ३८ लाख रुपैयाँ बराबरका व्यापारिक सामग्री जफत भएका छन् । गते आर्थिक वर्षमा भन्सार छलीका तीन सय ५८ मुद्दा दर्ता भई दुई करोड ४३ लाख रुपैयाँ बराबरका सामग्री जफत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार