५ जेष्ठ २०८१, शनिबार

भारतमा २०९ नेपाली हराए, २७ महिनामा बाटैमा ९२ जना लुटिए



धनगढी । रोजगारका लागि भारत गएका सुदूरपश्चिमका चार वटा स्थानीय तहका दुई सय नौ जना जना हराएको तथ्यांक सार्वजनिक भएको छ ।
निड्स नेपालले कञ्चनपुरको पूनर्वास नगरपालिका र महाकाली नगरपालिका तथा डोटीको शिखर नगरपालिका र केआईसिंह गाउँपालिकाको वडा नम्बर ६ र ७ मा गरेको भारतमुखी श्रम आप्रवासनको अवस्था अध्ययन अनुसार दुई सय र्नौ जना भारतमा हराएका छन् ।

sima naka kailali
फाइल तस्बिर

निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैका अनुसार शिखर नगरपालिकाबाट एक सय, पूनर्वास नगरपालिकाबाट ३७, महाकाली नगरपालिकाका ५४ र केआईसिंह गाउँपालिकाको वडा नम्बर ६ र ७ का १८ जना हराइरहेका छन् ।
हराएका मध्ये ६६ जनाका परिवारले आफ्नो मान्छे भारतको कुन ठाउँबाट हराएको हो भन्ने समेत थाहा पाएका छैनन् । सहकार्यकारी निर्देशक मडैले ३६ जना उत्तराखण्ड, ३३ जना दिल्ली, २२ जना पञ्जाव, २२ जना मुम्बई, १७ जना गुजरात/राजस्थान, १३ जना उत्तरप्रदेशबाट हराएको बताए ।
अध्ययनका अनुसार हराएका मध्ये ३२ जनाको परिवारले खोजीका लागि पहल समेत गर्न सकेनन् । एक सय ७७ जनाका परिवारले भारत गएर त्यहाँका साथी र संस्थाहरूको पहलमा खोज्ने प्रयास गरेका थिए । तर, नेपाल सरकारको तर्फबाट खोजीका लागि कुनै पहल हुन नसकेको मडैले बताए ।
तीमध्ये एक सय ५५ जनाको परिवारले फर्किने आशा मारिसकेका छन् भने ५४ जनाका परिवारले फर्किने आशमा बसेका छन् । भारतमा हराउने मध्ये ७४ अल्कोहलिक भएको कारणले हराएको हुन सक्ने परिवारका सदस्यले अनुमान गरेका छन् । ४९ जना मानसिक समस्याका कारणले हराएको परिवारका सदस्यले बताएका छन् । ४३ जनाका परिवारले भगवानका कारण हराएको बताएका छन् भने ४३ जनाले कारण नै थाहा पाउन सकेका छैनन् ।

 

२७ महिनामा बाटैमा ९२ जना लुटिए
गत २७ महिनामा भारतमबाट काम गरेर गड्डाचौकी हुँदै फर्किरहेका ९२ जना नेपालीहरू बाटोमै लुटिएका छन् ।
निड्सको अध्ययनअनुसार महेन्द्रनगरमा ६ र ब्रह्मदेवका ५ जना गरी ११ नेपाल पुगिसकेपछि पनि लुटिएका छन् । सबैभन्दा धेरै भारतको वनबासामा २६ जना, हल्द्वानीमा १३ जना लुटिएका छन् । भारतको बरेली, गढवाल, आनन्द विहार लगायतका विभिन्न स्थानमा लुटिने गरेको तथ्यांक छ ।
अध्ययन अनुसार लठ्याउने औषधि खुवाएर ४१ जनालाई लुटिने गरेका छन् । ४१ जनाको सामान बाटोमा चोरी भएको थियो । ५ जनालाई त्रास देखाएर, ४ जनालाई कुटपिट गरेर लुटिएको छ भने एक जनालाई सीमानामा धम्क्याएर लुटिएका थिए ।
त्यसैगरी, सँगै यात्रा गरिरहेको यात्रीले ६५ जनालाई, घटनास्थलका स्थानीय समुदायले २४ जनालाई, दलाल तथा बसका कर्मचारीले ३ जनालाई लुटेको तथ्यांकले देखाएको छ ।
१० हजार रुपैयाँ भन्दा कम कमाएर घर फर्किदा लुटिने सबै भन्दा धेरै ३५ जना छन् । २८ जनाले १० देखि २० हजार, १५ जनाले २० देखि ३० हजार, नौ जनाले ३० देखि ४० हजार, एक जनाले ४० देखि ५० र चार जनाले ५० हजार रुपैयाँ भन्दा बढि कमाएर फर्किरहेको बेला लुटिएको तथ्यांकले देखाएको छ ।

सम्बन्धित समाचार

भारतमुखी श्रम आप्रवासनलाई व्यवस्थित गर्न बीमा कार्यक्रम लागु: मन्त्री सोडारी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार