१० श्रावण २०८१, बिहीबार

निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी शुरु



धनगढी । कैलालीको धनगढीमा बुधबारदेखि निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी–२०७५ शुरु भएको छ । बुधबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनी आगामी २७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । कैलाली हार्डवेयर व्यावसायी संघको आयोजनामा सञ्चालन भएको प्रदर्शनीमा ६० बढी स्टल रहेका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले छिट्टै प्रादेशिक औद्योगिक नीति बनाउने जानकारी दिए । “हामीले औद्योगिक क्षेत्र बनाउने, व्यवस्थापन गर्ने, लगानीकर्ता भित्र्याउने, औद्योगिक सुरक्षाको व्यवस्था, करमा छुट लगायतका विषयलाई समेटेर नीति बनाउने तयारी गरिरहेका छौं” मुख्यमन्त्री भट्टले भने– “प्रदेशको समृद्धिका लागि उद्योग स्थापना हुन जरुरी रहेकाले लगानीकर्तालाई यस प्रदेशमा ल्याउन पहल गरिने छ । मुख्यमन्त्रीले विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आह्वान गरे ।”
निजी क्षेत्र र सरकारको सहकार्य बिना विकास सम्भव नरहेको चर्चा गर्दै मुख्यमन्त्रीले उद्योगी व्यावसायीहरूलाई सरकारसँग हातेमालो गरी प्रदेशको विकासमा सहयोग गर्न आग्रह गरे । उनले प्रदेश ७ मा उद्योग स्थापनाका लागि सरकारले गर्नुपर्ने कुरामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे ।
उनले तत्कालीन सुदूरपचिम विकास क्षेत्र नामले नै विकासमा पछाडि नपरेको दावी गरे । भने– “प्रदेशको नाम सुदूरपचिम राख्दा प्रदेश पछाडि पर्ने भ्रममा रहनु हुँदैन ।” “सामाजिक सञ्जाल तथा अन्य विभिन्न ठाउँमा भइरहेका टिकाटिप्पणीमा सुदूरपश्चिम नामले नै यो क्षेत्र पछि परेको भन्ने भ्रम फैलिएको छ” उनले भने– “यो क्षेत्र नामले पछि नपर्ने नेतृत्वकर्ताले पनि ध्यान दिन जरुरी छ ।”
उनले यो प्रदेश सुदूरपश्चिमकै नामले देश विदेशमा परिचित भएकाले सोही नाम सर्वसम्मत तरिकाले पारित गरेको बताए । उनले सुदूरपश्चिमकै नामले डेउडा गीत, विभिन्न संघसंस्था समेत सञ्चालनमा रहेकाले सुदूरपचिमको पहिचान र संस्कृतिको जगेर्ना गर्न यो नामले धेरै प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले निजी क्षेत्रबाटै विकास सम्भव भएकाले सरकारलाई सहयोग गर्न आग्रह गरे । कर छलेर, नक्कली बिल बनाएर सरकारलाई विकासमा बाधा नगरी लगाएको कर तिरेर प्रदेशको आर्थिक विकासमा सहयोग गर्न उद्योगीहरूलाई उनले आग्रह गरे ।
उनले प्रदेश सरकार अधिकारसम्पन्न भएकोले सुरुवाती चरणमा विभिन्न बाधाका कारण सुस्त रहे पनि अब छिट्टै प्रदेश सरकारले गति लिने बताए ।
प्रदेश सभा सदस्य डिल्लीराज पन्तले उद्योग स्थापनाका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने र गौरीफण्टा नाकाको स्तरोन्नतीका लागि ध्यान दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा सहभागी कैलालीका हार्डवेयर व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि छिटो औद्योगिक क्षेत्र स्थापना हुनुपर्ने बताए ।
हार्डवेयर व्यावसायीहरूले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम आर्थिक रूपमा पछाडि रहेकोले प्रदेश तथा संघीय सरकारले औद्योगिक क्षेत्र स्थापना तथा विकास र विस्तारमा ठोस नीति र योजना बनाउनुपर्ने बताए ।

सम्बन्धित समाचार

हार्डवेयर व्यावसायी भन्छन्–

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार