१० श्रावण २०८१, बिहीबार

काँग्रेस संसद फर्कियो



धनगढी । निरन्तर पाँच वटा बैठक बहिस्कार गरेको सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिहीबारको प्रदेश सभा बैठकमा भाग लिएको छ ।
बिहीबारको बैठकमा सरकारका तर्फबाट प्रतिपक्ष दलले उठाएका मुद्दाको जवाफ दिने कार्यसूची रहेको थियो ।
बैठकमा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशको हितका लागि प्रतिपक्षलाई साथमा लिएरै अघि बढ्ने बताए । उनले भने– “लोकतन्त्रमा फरक मत राख्न पाइन्छ । सरकार सबैका भावनालाई समेटेर अघि बढ्ने छ ।”
मन्त्री सोडारीले राजधानीका भौतिक संरचना बनाउदा प्रतिपक्षी दलको समेत सहितका सल्लाह सुझाव लिइने बताए । उनले भने– “सरकारले वन, जंगल र प्राकृतिक स्रोत साधनमाथि कुनै क्षति हुन नदिने गरी राजधानीका लागि भौतिक संरचना निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे ।”
मन्त्री सोडारीले कैलालीका धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगंगा नगरपालिका तथा चुरे गाउँपालिका एवं कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पनि आफूलाई प्रदेशको राजधानी नै रहेको क्षेत्रका रूपमा लिन आग्र गरे ।
मन्त्री सोडारीले राजधानीका विषयमा आएका समाचारहरूलाई लिएर पत्रपत्रिका जलाइनु दु:खद् घटना भएको बताए ।
यसअघि, बैठकमा भाग लिँदै संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रणबहादुर रावलले प्रतिपक्ष दलबिना संसदमा कुनै पनि निर्णय गरिनु गैरसंवैधानिक, अलोकतान्त्रिक र संसदीय मूल्यमान्यता विपरित भएको चर्चा गरे । उनले भने– “लोकतान्त्रिक संसदीय व्यवस्था भएका विश्वका कुनै पनि मुलुकमा प्रतिपक्षी दलको अनुपस्थितिमा कुनै पनि निर्णय गरिदैन । किनकि, प्रतिपक्षी बिना निर्णय गर्नु भनेको आधारभूत संसदीय मुल्यमान्यता विपरित हो ।”
उनले असोज १२ गते प्रतिपक्ष दलको अनुपस्थितिमा प्रदेशको राजधानी र नामबारे गरिएको निर्णय ऐतिहासिक भूल भएको आरोप लगाए ।
प्रमुख प्रतिपक्षी नेता रावलले गोदावरी, तेघरीमा प्रदेश राजधानी वातावरणीय दृष्टिकोणले निकै संवेदनशील भएकाले संसदले यो निर्णय सच्याउनुपर्ने बताए । उनले भने– “गोदावरी, तेघरीमा प्रदेश राजधानी राख्ने निर्णयबारे काँग्रेसले राखेको असहमति र मुद्दाप्रति देशव्यापी रूपमा चर्चा पाएको छ ।”
उनले जनताका मुद्दा उठाउने सञ्चार माध्यममाथिको आक्रमण जनताको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमाथिको आक्रमण भएको चर्चा गरे ।
काँग्रेसले असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, तेघरी राख्ने निर्णय हुँदा बैठक बहिस्कार गरेको थियो । काँग्रेसले त्यसपछिका चारवटा वटा बैठक पनि बहिस्कार गरेको थियो ।
बिहीबार प्रदेश सभामुख, प्रदेशका मन्त्रीहरू, प्रमुख प्रतिपक्ष दलका नेता सहितको छलफलपछि काँग्रेसले बैठकमा भाग लिएको थियो ।
बैठकको विशेष समयमा बोल्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङले सत्ता र प्रतिपक्ष एक भएर अगाडि बढ्दा राजधानीको भौतिक संरचना निर्माण छिटो र कम खर्चमा बन्ने बताए ।
उनले भने– “हामीले प्रदेशको नाम र राजधानी निर्धारण गरेका छौं । अब चाडै संरचना बनाउनेतर्फ लागौं ।”
बिहीबारको बैठकमा सामाजिक विकास मन्त्री सोडारीले प्रशासकीय कार्यविधी नियमित गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार