२२ बैशाख २०८१, शनिबार

प्रदेशलाई केरा उत्पादनमा आत्मनिर्भर बनाउन छलफल



धनगढी । प्रदेशलाई केरामा आत्मनिर्भर बनाउने बारे सुदू्रपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार छलफल भएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा गरिएको छलफल कार्यक्रममा प्रदेशलाई केरामा आत्मनिर्भर बनाउन दीर्घकालीन योजना बनाउने बारे छलफल भएको जनाइएको छ ।
छलफलमा केरा खेतीलाई प्रदेशका अन्य जिल्लामा विस्तार गर्न किसानलाई अनुदान उपलब्ध गराई प्रोत्साहन गर्ने, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र खक्रौलामा तीन वटा बिषादी मापन यन्त्र राख्ने र केरा उत्पादन बृद्धि गरी परनिर्भरता हटाउन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाउने जानकारी दिइयो ।
छलफलमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रवीन्द्र प्रधान र कृषि महाशाखाका प्रमुख यज्ञराज जोशीले केरा खेतीमा आत्मनिर्भर बनाउन मन्त्रालयले तयार पारेको आगामी योजना बारे जानकारी गराएका थिए ।
सो अवसरमा प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद बिडारी तथा कैलाली र कञ्चनुपरका प्रमुख जिल्ला अधिकारी तथा सहभागी किसानहरूले भारतबाट आउने केरालाई निरुत्साहित गरी प्रदेशलाई केरामा आत्मनिर्भर बनाउन आवश्यक रणनीति अवलम्बन गर्नुपर्ने बताए ।
कार्यक्रममा मुख्यमन्त्री भट्टले बेरोजगार युवाहरूलाई कृषितर्फ आकर्षित गर्न प्रदेश सरकारले योजना लागू गर्ने बताए ।
कार्यक्रममा केराखेतीमा आवद्ध किसानहरूले मुख्यमन्त्री भट्टलाई छ बुँदे ज्ञापन बुझाएका थिए । ज्ञापनपत्रमा भारतबाट निर्वाध रूपमा केरा आयात भइरहेकोले स्थानीय किसानले उत्पादन गरेको केरा बिक्रीमा समस्या रहेको उल्लेख छ ।
कैलाली र कञ्चनपुर जिल्लाका केरा कृषक संघर्ष समिति, केरा विकास संजाल, केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्था लिमिटेड, कैलाली केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्था लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र राष्ट्रिय कृषक समूह महासंघले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।
हाल कैलाली र कञ्चनपुर जिल्लामा दुई हजार पाँच सय कृषकहरूले एक हजार पाँच सय हेक्टरमा व्यवसायिक रूपमा केरा खेती गर्दै आएका छन् । कैलालीमा वार्षिक ७८ हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार