२२ बैशाख २०८१, शनिबार

नजिकिँदै चाडबाड, उपभोग्य वस्तुको मूल्य बृद्धि हुँदै



धनगढी । दशैंतिहार सहितका चाडबाड नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुने क्रम बढेको छ । अझ, कतिपय बजारमा दैनिक उपभोग्य वस्तुको अभाव समेत देखिन थालेको उपभोक्ताहरूको गुनासो छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख शहर तथा व्यापारिक केन्द्र, धनगढीमा दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्य वृद्धिको असर पहाडी जिल्लामा समेत परिरहेको छ । प्राय: चाडबाडमा मात्रै सरकारी तथा अन्य पक्षको बजार अनुगमन हुने गरेबाट पनि आम उपभोक्ताले चाडबाडमा दैनिक उपभोग्यका लागि अतिरिक्त मूल्य तिर्नु परिरहेको अवस्था छ ।
संघीय तथा प्रदेश सरकारबाट चालू आर्थिक वर्षका लागि वार्षिक बजेट भाषण गरे लगत्तै दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि हुने क्रम बढेको हो । अहिले दशैंतिहार नजिकिँदै गर्दा बजारमा नून, तेल, दाल, चामल लगायतको दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर वृद्धि भइरहेको देखिएको छ । व्यापारीले सरकारले विभिन्न सेवा तथा उत्पादनमा कर बृद्धि गरेका कारण दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य पनि बढेको दावी गर्दै आएका छन् ।
धनगढीमा एक महिनायता खाद्यान्न र तरकारीमा १० देखि १५ प्रतिशत वृद्धि भएको स्वयं व्यापारीहरूले नै जनाएका छन् । एक महिना अघिसम्म ३० देखि ३५ प्रति किलोका दरमा बिक्री भइरहेको मोटो चामल अहिले ४० देखि ४५ रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यस्तै, एक महिनाअघिसम्म ५० रुपैयाँ प्रतिकिलोका दरमा पाइने मसिनो चामलको मूल्य अहिले ५५ देखि ६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, स्थानीय बजारमा एक महिना अघिसम्म एक सय ३० रुपैयाँ प्रति लिटरका दरले पाउने तोरीको तेलको मूल्य अहिले एक सय ५० रुपैयाँ नाघेको छ । धनगढीका किराना व्यवसायी राजिव गुप्ताका अनुसार गत वर्षको तुलनामा यस वर्ष दशैंतिहार आउनु अघि नै दैनिक उपभोग्य वस्तुमा १० देखि ५० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । उनले भने– “थोक बिक्रेता तथा डिलरबाट नै महंगोमा खरिद गर्नु परेपछि दैनिक उपभोग्यको मूल्य बृद्धि स्वाभाविक हुन्छ ।”
धनगढी सब्जीमण्डीका व्यापारीहरू आन्तरिक उत्पादनमा कमी आएको तथा भारतबाट आयातमा हुने वस्तुको मूल्य बढिरहेकोले स्थानीय बजारमा तरकारीको मूल्य पनि बृद्धि भएको बताउँछन् ।
धनगढीमा भएको दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको असर प्रदेश ७ का सबै जिल्लामा पर्ने गरेको उपभोक्ता समिति कैलालीका अध्यक्ष हरि रेग्मी बताउँछन् । “धनगढी मै दैनिक उपभोग्य वस्तुको कृत्रिम मूल्य बृद्धि नियन्त्रण हुनु जरुरी हुन्छ” उनी भन्छन्– “यसका लागि नियमित तथा प्रभावकारी रूपमा बजार अनुगमन गर्नु आवश्यक हुन्छ ।”
धनगढीमा बजार अनुगमनका लागि वाणिज्य कार्यालय, गुण नियन्त्रण, नाप तौल कार्यालयहरू रहेका छन् । तर, प्राय: चाडबाडका बेला मात्रै गरिने अनुमगन कार्य औपचारिकतामा मात्रै सीमित हुने गरेको पाइन्छ । यस पटक चाडबाडको मुखैमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकाले दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य बृद्धि भइरहेको देखिन्छ ।
उपभोक्ता समितिका अध्यक्ष रेग्मीले बजार अनुगमनलाई नियमित बनाउने तथा चाडबाडका बेला अझ बढि ध्यान दिनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार