२२ बैशाख २०८१, शनिबार

सुपथ मूल्य पसलबाट चामल बिक्री शुरु



धनगढी । नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले आज (सोमबार) देखि सुपथ मूल्य पसलबाट चामल बिक्री शुरु गरेको छ । खाद्य संस्थानको धनगढी कार्यालयका अनुसार धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको क्षेत्रीय कार्यालयमा रहेको सुपथ मूल्य पसल र खाद्य संस्थानको गोदाम रहेको मोहनपुरबाट सस्तो दरमा चामल बिक्री गरिने छ ।
खाद्य संस्थानका अञ्चल प्रमुख प्रेमनारायण भण्डारीले आम उपभोक्तालाई सहुलीयत दरमा चामल उपलब्ध गराउने उद्देश्यले आज (सोमबार) देखि सुपथ मूल्य पसलबाट बिक्रीको व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने– “आजदेखि हामीले धनगढीका दुई वटा स्थानबाट चामलको बिक्री शुरु गरेका छौं ।”
खाद्य संस्थानले यस वर्ष पनि कैलालीका टीकापुर, घोडाघोडी लगायतका क्षेत्रमा भने सुपथ मूल्य पसल सञ्चालन नगर्ने जनाएको छ । अञ्चल प्रमुख भण्डारीले प्रदेशका सात जिल्लामा संस्थानको डिपो मार्फत सहुलीयत दरको चामल पठाइरहेको बताए ।
खाद्य संस्थानले सुपथ मूल्य पसलबाट सोना मनसुली र जिरा मसिना चामलको बिक्री गर्ने जनाएको छ । अञ्चल प्रमुख भण्डारीका अनुसार बजार मूल्यभन्दा पाँच सय रुपैयाँ कममा दुवै ब्राण्डका चामल बिक्री हुनेछन् । अहिले सोना मनसुलीको बजार मूल्य प्रति क्विन्टल चार हजार छ सय रुपैयाँ रहेको छ भने जिरा मसिना चामलको मूल्य प्रति क्विन्टल पाँच हजार छ सय रुपैयाँ रहेको छ ।
खाद्य संस्थानले सोना मनसुली चामलको मूल्य प्रति क्विन्टल चार हजार एक सय जिरा मसिना चामलको मूल्य प्रतिक्विन्टल पाँच हजार एक रुपैयाँ निर्धारण गरेको छ । खाद्य संस्थानले कात्तिक २७ गतेसम्म सहुलीयत दरको चामल बिक्री गर्ने जनाएको छ ।
संस्थानका अञ्चल प्रमुख भण्डारीका अनुसार यो अवधिमा संस्थानले सहुलियत दरको एक हजार क्विन्टल चामल बिक्रीवितरण गर्ने लक्ष्य राखेको छ । सुपथ मूल्य पसलबाट एक जनाले बढीमा दुई कठ्ठा चामल खरिद गर्न पाउने छन् ।
संस्थानले गत वर्ष बंगलादेशी चामल ९४ क्विन्टल ८५ किलो र जिरा मसिना चामल ३५ क्विन्टल २५ किलो गरी एक सय २९ क्विन्टल ७५ किलो चामल विक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार