१० श्रावण २०८१, बिहीबार

मुक्त कमैयासँग लिएको घुस कर्मचारीले फिर्ता गरे



लम्की । जग्गाधनी पुर्जा बनाउन भन्दै मुक्त कमैयाहरूबाट लिएको घुस मालपोत कार्यालय, टीकापुरका कर्मचारीले फिर्ता गरेका छन् ।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर, पालबजारमा रहेको मुक्त कमैया वस्तीका बासिन्दाबाट मालपोत कार्यालय टीकापुरका कर्मचारीले विचौलियासँग मिलेर लिएको रकम (घुस) बारे चर्चा भएपछि फिर्ता गरेको जनाइएको छ ।
मालपोत कार्यालय, टीकापुरका कार्यालय सहयोगी मनिराम चौधरीले पालबजारका प्रेमलाल चौधरी र रामलाल चौधरीसँग मिलेर ५७ जना मुक्त कमैयाहरूसँग लालपुर्जा बनाउन भन्दै अवैध ढंगबाट रकम संकलन गरेका थिए । उनीहरूबाट उठाएको मध्ये दुई लाख तीन हजार आठ सय २५ रुपैयाँ फिर्ता गरेको जनाइएको छ ।
वडापालिका कार्यालयको सिफारिस सहित बढीमा एक हजार एक सय रुपैयाँ मात्र लाग्नेमा कार्यालय सहयोगी मनीरामले दुई जना विचौलिया (प्रेमलाल र रामलाल) सँग मिलेर रसीद नकाटेरै प्रति लालपुर्जा बनाएवापत एक जनाबाट तीन हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म असुलेका थिए ।
मुक्त कमैयासँग लालपुर्जा बनाउन गलत ढंगबाट रकम उठाइएको बारे समाचार प्रकाशन, प्रसारण भएपछि नेपाली काँग्रेसका नेता केशवबहादुर शाहीको विशेष पहलपछि रकम फिर्ता गरिएको बताइएको छ । फिर्ता गरिएको रकम शनिबार राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी र पत्रकारहरूको रोहवरमा सम्बन्धित मुक्त कमैयालाई बुझाइएको थियो ।
मुक्त कमैयालाई जग्गाधनी लालपुर्जा दिलाउने नाममा मुक्त कमैया शिविरबाट गलत ढंगबाट रकम असुली भइरहेको बारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी अमरावतीको टोलीले घटनामा संलग्न जानकी गाउँपालिका वडा नम्बर ८ पालबजारका प्रेमलाल र रामलाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको सहायक प्रहरी निरीक्षक रणबहादुर बुढाले बताए ।
एक सय रुपैयाँको रसिद काटेर हजारौ रुपैयाँ असुल्दै गरेका घटनाका योजनाकार मालपोत कार्यालय टीकापुरका कर्मचारी मनिरामले मुक्त कमैयाहरूसामु आफ्नो गल्ती स्वीकार गरी माफी मागेका थिए ।
पालबजारका मुक्त कमैयाहरूले पैसा नतिरेसम्म जग्गा धनी पुर्जा नमिल्ने भनेर गाउँमा खबर आएपछि आफूहरू बढी रकम तिर्न बाध्य भएको बताए । जग्गाको लालपुर्जा लिन वडापालिका कार्यालय र मालपोत कार्यालयमा गरी एक हजार एक सय रुपैयाँ मात्र बुझाउनुपर्ने जानकारी पाएपछि मात्र आफूहरू ठगिएको थाहा पाएको मुक्त कमैया शिविरकी कुलेनी थारू र दिलकुमारी चौधरीले बताए ।
भूमिसुधार कार्यालयले करिव दश वर्षअघि विभिन्न ठाउँमा बस्दै आएका मुक्त कमैयाहरूको लगत संकलन गरेको थियो । सोही अनुसार मुक्त कमैया पुनस्र्थापना समितिको सिफारिसमा जानकी गाउँपालिका वडा नम्बर ८, पालबजारका ६२ र लम्कीचुहा नगरपालिका वडा नम्बर ३, बल्चौरका तीन सय १८ मुक्त कमैया परिवारलाई जग्गा दिने निर्णय भएको थियो ।
मालपोत कार्यालय टीकापुरले नामथर फरक परेमा, कुनै जग्गाधनीको मृत्यु भएमा वा अन्य कुनै कारणले सच्याउनुपर्ने भए स्थानीय तहको सिफारिस लिएर आउन मुक्त कमैयालाई सूचना गरेको थियो ।
सोही सूचनाका आधारमा मालपोत कार्यालयका कर्मचारी संलग्न गिरोहले मुक्त कमैयाहरूसँग बढि रकम असुल्ने गरेका थियो । पालबजारका मुक्त कमैयाहरूको पैसा फिर्ता भए पनि जिल्लाको बल्चौर, बक्लौवा र विद्यानगर शिविरका मुक्त कमैयाबाट अवैध रूपमा उठाइएको लाखौं रुपैयाँ भने अझै फिर्ता भएको छैन ।
उता, पीडितहरूका तर्फबाट कुनै निवेदन वा फिराद दर्ता नभएको भन्दै प्रहरीले प्रेमलाल चौधरी र रामलाल चौधरीलाई रिहा गरिसकेको छ । त्यस्तै, मालपोत कार्यालयका सहयोगी मनिराममाथि पनि कुनै कारवाही अघि बढाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार