१० श्रावण २०८१, बिहीबार

मृतकको रकम दलालले खाए



धनगढी, गौरीगंगा नगरपालिका वडा नम्बर ११ ऐठाका राजेशकुमार चौधरी २०७१ मंसिरमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । उनी कञ्चनपुरको कृष्णपुरका विष्णुप्रसाद चौधरी र कैलाली मसुरियाका चन्द्रबहादुर चौधरी मार्फत् विदेश गएका थिए ।
मलेसियामा राजेशले चार महिनासम्म राम्रैसंग काम गरे । अचानक २०७२ बैशाख ७ गते उनको मृत्यु भयो । शव घरमा ल्याइयो । परिवारले काजकृया गरिसकेपछि बैदेशिक रोजगार विभागमा पाउने आर्थिक सहायता र विमा रकमको लागि निवेदन गरे ।
राजेशकी श्रीमती पुष्पाकुमारीले विमा कम्पनीबाट पा“च लाख र बैदेशिक रोजगार विभागबाट तीन लाख रुपैया पाइन् । त्यसपछि राजेशलाई मलेसिया पठाउने दलालहरु बिष्णु र चन्द्रले त्यो रकम हातपार्ने युक्तिमा लागे । चन्द्रले डेढ कठ्ठा जमीन पुष्पाको नाममा पास गरिदने भनेर पा“च लाख ६५ हजार रुपैया लिए । बिष्णुले मासिक तीन प्रतिशत ब्याज दिने भनेर एक लाख ५० हजार रुपैया लिए ।
आजभोलि भन्दै दलालहरुले तीन वर्षसम्म पुष्पालाई न त रकम फिर्ता दिए, न ब्याज र जमिन नै दिए ।
पुष्पालाई न्यायका लागि कहा“ जाने, के गर्ने छटपटी भइरहेको थियो । २०७४ चैतमा सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका रिटर्नी स्वयंसेवक रमेश विक घरभेटमा गए । उनले पुष्पा र उनको परिवारलाई पनि भेटे । पुष्पाले आफ्नो दुःखेसो सुनाइन् । रमेशले उनको समस्या सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र र आप्रवासी कामदार हकहित संरक्षण केन्द्रमा पु¥याए ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको पहलमा गौरीगंगा नगरपालिकामा उपमेयर अञ्चला चौधरीको रोहवरमा दलालहरु विष्णु र चन्द्रसंग पुष्पाको छलफल भयो । पहिलो बैठकमा कुरा मिलेन । दोस्रो पटकको छलफलमा दुबै जना दलालले आफ्नो प्रतिवद्धता पुरा गर्ने बचन दिए । विष्णुले एक महिनाभित्रै व्याज सहित रकम फिर्ता दिने प्रतिवद्धता गरे । चन्द्रले डेढ कठ्ठा जमीन पुष्पाको नाममा पास गर्ने प्रतिवद्धता जनाए । नगरपालिकाले सो छलफलको निर्णय लेख्यो ।
पुष्पाले विष्णुबाट २०७५ असार १३ गते सावा र व्याज गरी दुई लाख एकानब्बे हजार दुई सय रुपैया“ फिर्ता पाइन् । चन्द्रले आउदो मंसिरमा डेढ कठ्ठा जमीन दिने भनेका छन् ।
कैलाली जिल्लामा काम गर्न थालेपछि परियोजनाले हालसम्म स्थानीयस्तरमा ४२ जनालाई ६२ लाख २८ हजार दुई रुपैया“ क्षतिपूर्ति दिलाएको छ भने राष्ट्रिय स्तरबाट (वैदशिक रोजगार विभागमार्फत् न्याधिकरणमा मुद्दा जिताएर) २२ जनालाई एक करोड २९ लाख ८२ हजार एक सय आठ रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । ६४ जनालाई एक करोड ९२ लाख १० हजार तीन सय आठ रुपैयाँ क्षतिपूर्ति दिलाएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले जनाएको छ ।
सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तरगतको सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता लक्ष्मी चौधरीले बैदेशिक रोजगारमा लगाई दिने बहानामा रकम लिई विदेश नपठाएको, विदेश जान भनि भारतका विभिन्न ठाउँ घुमाएर फर्काएको, विदेश पुगेपछि काम र तलब नपाएको, विदेशमा गरिने स्वास्थ्य परिक्षण फेल भई फर्केको, बैदेशिक रोजगारको शिलशिलामा विरामी भएर फर्केको, दुर्घटना परी घाइते अशक्त भएका व्यक्ति र बैदेशिक रोजगरको क्रममा मृत्यु भए परिवारलाई क्षतिपूर्ति दिलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार