१० श्रावण २०८१, बिहीबार

बासुलिंग सुगर मिल बन्दको १४ वर्ष : अझैं आठ हजार बढी किसानले भुक्तानी पाएनन्




धनगढी ।
प्रदेश नम्बर ७ (साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्र) को ठूलो उद्योगका रूपमा रहेको कैलालीको चुहास्थित बासुलिङ सुगर मिल बन्द भएको १४ वर्ष पुगिसकेको छ । तर, अहिले पनि झण्डै आठ हजार जना किसानले मिललाई बेचेको उखुको मूल्य पाएका छैनन् ।
मिल व्यवस्थापनले नै किसानलाई झण्डै साढे तीन करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाएको छ । मिलका कारखाना म्यानेजर देवबहादुर स्वाँरले करिब आठ हजार किसानलाई उखुको पैसा दिन बाँकी रहेको बताए ।
किसानहरूले आफूहरूले उखु बेचेको १५ हजारदेखि चार लाख रुपैयाँसम्म रकम पाउन बाँकी रहेको बताएका छन् । मिलका कारखाना म्यानेजर स्वाँरले भने– “कैलाली, कञ्चनपुर र बर्दिया जिल्लाका आठ हजार उखु किसानलाई पाँच सयदेखि ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको” बताए । दश वर्षे माओवादी द्वन्द्वका कारण उखु पाउन नसकेको र मिल तथा सञ्चालकको सुरक्षा नभएको भन्दै २०६१ सालमा बासुलिंग सुगर मिल बन्द भएको थियो ।
किसानहरूले मिल चलाउनुस्, मिल चलेपछि मात्रै हाम्रो बाँकी रकम फिर्ता दिनुस् भनेका छन्’ लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हर्कबहादुर कठरियाले भने । उनी पनि उखु उत्पादक किसान हुन् । उनले मिलसँग आफ्नो पनि ४२ हजार रुपैयाँ लिन बाँकी रहेको बताए । वडाध्यक्ष कठरियाले मिलले किसानलाई तिर्न बाँकी उखुको रकम सेयरमा बदल्ने र सेयर लिन नचाहने किसानलाई रकम भुक्तानी गर्ने उपाय पनि मिल सञ्चालकहरूलाई आफूहरूले दिएको बताए ।
उखुको मूल्य नदिएर किसानलाई ठगेको भन्दै द्वन्द्वकालमा माओवादीले मिल सञ्चालक अरुण चन्दलाई अपहरण गरेर लामो समयपछि छोडेका थिए ।
सो मिल कृषि विकास, बैंक, नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष र नेपाल बैंक लिमिटेडको ५७ करोड २७ लाख २८ हजार ऋण तथा सञ्चालक चन्दको २५ करोड ६४ लाख ३४ हजार समेत गरेर ८२ करोड ८१ लाख ६२ हजार रुपैयाँ लागतमा स्थापना भएको थियो ।
२०५१ सालमा बासुलिङ सुगर एण्ड जनरल इन्डष्ट्रिज दर्ता भएर २०५४ सालदेखि सञ्चालनमा ल्याइएको थियो । त्यतिबेला सो मिलले दैनिक २५ हजार क्वीन्टल उख्खु पेलेर वार्षिक दुई लाख क्वीन्टल चिनी उत्पादन गर्ने गरेको थियो । शुरुका वर्षहरूमा मिलले वार्षिक ३० करोड रुपैयाँ सम्मको कारोबारो गर्ने गरेको थियो । शुरुमा २४ घण्टा सञ्चालन भएको सो मिलको सुरक्षालाई ध्यान दिँदै १२ घण्टामा झार्नु परेको र द्वन्द्वका कारण अधिकांस उखु किसान गाउँबाट विस्थापित भएपछि मिल बन्द गर्नु परेको मिलका कार्यकारी अधिकृत डबल शाहले बताए ।
२०६९ सालमा रुग्ण उद्योगको मान्यता पाएकोले सरकारले पुनर्कर्जा दिलाएर मिल फेरि सञ्चालनमा आउन सक्ने अधिकृत शाह बताए । “साँवा र ब्याज गरी दुई अर्ब ५० करोड रुपैयाँ बैकहरूलाई तिर्नुपर्नेमा रुग्ण उद्योगको मान्यता पाएपछि ५७ करोड साँवा र १० प्रतिशत जति मात्रै व्याज तिर्नुपर्ने छ” उनले भने– “त्यसैले फेरि मिल सञ्चालन गर्न एक अर्ब २५ करोड रुपैयाँ ऋण सरकारले दिलाउनुपर्छ ।”
मिल बन्द हुँदा त्यसबाट प्रत्येक्ष रोजगार पाएका एक हजार बढी कामदार बेरोजगार बनेका छन् । मिल सञ्चालन भएको बेला कैलालीमा मात्रै दुई हजार हेक्टर बढी क्षेत्रफलमा उखु खेती गर्ने गरिएको थियो । उद्योग बन्द भएपछि करिब तीन सय हेक्टर क्षेत्रफलमा मात्रै उखु खेती भइरहेको छ । कैलालीमा ९० हजार हेक्टर बढी कृषियोग्य जमिन छ ।
मिल बन्द भएपछि मिलको स्वामित्वमा रहेको ५७ बिघा जमिन बाँडेर ३२ जना कर्मचारी खेतीपाती गरेर आफ्नो गुजारा गरिरहेको छन् ।
सात नम्बर प्रदेशमा अहिले वार्षिक रूपमा एक लाख ८० हजार क्वीन्टल चिनी भारतबाट आपूर्ति हुँदै आएको छ ।
यसैबीच, बासुलिङ सुगर मिलका सञ्चालक अरुण चन्दले हालै प्रधानमन्त्री केपीशर्मा ओलीलाई भटेर मिल सञ्चालनका लागि वातावरण बनाइदिन अनुरोध गरेका छन् ।
“प्रधानमन्त्रीले मिल सञ्चालन गर्ने वातावरण बनाउन अर्थमन्त्रीलाई निर्देशन दिनु भएको छ” सञ्चालक चन्दलाई उधृत गर्दै प्रमुख अधिकृत शाहले भने– “प्रधानमन्त्रीले धेरै जनालाई रोजगारी दिने बासुलिंग सुगर मिल सञ्चालन हुनुपर्छ भन्नुभएको छ ।” मिलका सञ्चालक चन्दले प्रधानमन्त्रीसँगको भेटमा “सरकारले सहयोग नगरे मिल बन्द गरेर सरकारलाई साँचो बुझाउछु भनेपछि प्रधानमन्त्रीले मिल सञ्चालनका लागि आवश्यक पहल गर्ने” आश्वासन दिनुभएको मिलका प्रमुख कार्यकारी शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार