२३ बैशाख २०८१, आईतवार

सब्जीमण्डी व्यवस्थापनका लागि छलफल



महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मंगलबार तरकारी र फलफूल बजार व्यवस्थापनका लागि व्यवसायीहरूसित छलफल गरेको छ ।
भीमदत्त नगरपालिकासित दुई दशक अघि गरिएको सम्झौताका आधारमा तरकारी तथा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका छन् । २०५४ देखि २०५६ सालसम्म व्यापार व्यवसायका लागि एक सय पसल कोठा भाडामा दिइएको थियो ।
नगरपालिकासित सम्झौता गरिएका व्यक्तिले नगरपालिकालाई जानकारी नदिई तेस्रो व्यक्तिलाई भाडामा दिने, पसल कोठा बिक्री गर्ने र सम्झौता विपरित व्यापार व्यवसाय गरिएपछि मण्डी अव्यवस्थित बनेको छ ।
भीमदत्त नगरपालिका सामाजिक विकास समितिका सभापति तथा वडा नम्बर ६ का अध्यक्ष हरकसिंह धामीले जनप्रतिनिधि नभएर दुई दशकसम्म अव्यवस्थित बनेको मण्डीलाई व्यवस्थापन गर्न व्यवसायीसित छलफल गरिएको जानकारी दिए ।
“२०५२ देखि २०५४ सालसम्म व्यवसायीहरूसित सम्झौता गरी पसल कोठा भाडामा दिइएको थियो” उनले अहिले जनप्रतिनिधि आएपछि प्राथमिकता दिएर मण्डी व्यवस्थापनको कुरा अघि बढाइएको बताए ।
कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले मण्डी व्यवस्थापनका लागि नगरपालिकाबाट गरिने कार्यमा संघले पूर्णरूपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
मण्डी व्यवसायी संघले अहिले तेस्रो व्यक्तिबाट पसल भाडामा दिएर व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिको स्वामित्व कायम गरिनु पर्ने बताए ।
नगरपालिकासित सम्झौता हुँदा बर्सेनि नविकरण गरिनुपर्ने शर्तअनुसार भाडामा दिइएका पसल नविकरण नभएकाले सम्झौता स्वत: खारेज हुन पुगेको अध्यक्ष सोनारले बताए ।
नगरपालिकाले टिन सेट, पक्की र सडक छेउका पक्की गरी तीन भागमा बाडेर पसल कोठा भाडामा लगाएको छ । टिनको सेटको सात सय ५०, पक्कीको तीन हजार र सडक छेउका पसल कोठाको चार हजार रुपैयाँ भाडामा कायम गरिएको छ । भाडामा लिने व्यक्तिले चार गुणा बढीसम्म भाडा लिएर तेस्रो व्यक्तिलाई पुन: भाडामा लगाएका छन् ।
त्यस्तै, नगरपालिकाले मण्डीमा मल बनाउनका लागि गुरुयोजना बनाएको छ । सामाजिक विकास समितिका सभापति धामीले मण्डी बजारको केन्द्रविन्दू भएकाले मण्डीमा मल बनाउने प्रस्ताव गरिएको जानकारी दिए ।
छलफल कार्यक्रममा मण्डीका अध्यक्ष सोनार सहितले मण्डी व्यवस्थापनका लागि कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर १५ का अध्यक्ष भीमबहादुर शाहु, १९ का अध्यक्ष दामोदर महरा, प्रशासकीय अधिकृत हरिसिंह धामी, इञ्जिनियर जयराज भट्ट, मण्डी व्यवसायी संघका पूर्व अध्यक्ष तर्कराज भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार