२० बैशाख २०८१, बिहीबार

मन्त्रालयको मर्मत तथा फर्निचरमा छ करोड बढि खर्च



धनगढी । शहरी विकास तथा भवन डिभिजन कार्यालयले प्रदेश सातका मन्त्रालयहरू रहेका भवनको मर्मतसम्भार तथा फर्निचर आदिमा छ करोड रुपैयाँ बढि खर्च गरेको छ ।
शहरी विकास तथा भवन डिभिजन कार्यलयका अनुसार प्रदेशका मन्त्रालय तथा मन्त्री निवासका लागि फर्निचरमा एक करोड ५० लाख तथा मर्मत सम्भारमा पाँच करोड रुपैयाँ खर्च भएको छ ।
भवन डिभिजन कार्यालयले प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालय, मुख्यमन्त्री निवास, मुख्य न्यायधिवक्ताको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालय रहने भवनको मर्मतसम्भार तथा फर्निचर खरिद गर्ने जिम्मेवारी पाएको थियो ।
भवन डिभिजन कार्यालयको अनुसार प्रदेश सभा सचिवालय, सभामुख र उपसभामुखको कार्यालय तथा आवासका लागि ३० लाख ६२ हजारको फर्निचर खरिद गरिएको थियो ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा १२ लाख ७८ हजार र निवासमा १६ लाख ३३ हजार रुपैयाको फर्निचर खरिद भएको छ ।
त्यस्तै, मुख्यन्याधिवक्ताको कार्यालयमा पाँच लाख १० हजार, सामाजिक विकास मन्त्रालयमा १३ लाख ८९ हजार र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आठ लाख ८९ हजार रुपैयाँको फर्निचर खरिद गरिएको छ । भने, आर्थिक मामिला तथा योजना मन्त्रालयमा पाँच लाख ७८ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १८ लाख ३० हजार, प्रदेश प्रमुखको निवास र कार्यालयमा १३ लाख ११ हजार र उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा आठ लाख ५९ हजार रुपैयाँको फर्निचर खरिद गरिएको छ ।
त्यस्तै, प्रदेश सभा र सचिवालय मर्मतमा ७७ लाख रुपैयाँ खर्च भएको छ । डिभिजन कार्यालयका अनुसार सभामुखको निवास मर्मतमा १८ लाख ५० हजार, उपसभामुखको निवासमा १६ लाख, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा २५ लाख र निवासमा पाँच लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, मुख्य न्यायधिवक्ताको कार्यालयमा पाँच लाख, सामाजिक विकास मन्त्री निवासमा नौ लाख ५० हजार, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय र निवासमा २८/२८ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एक करोड २९ लाख र उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्राल मर्मतमा ४० लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
डिभिजन कार्यालयले क्षेत्रीय वन तालिम केन्द्र मर्मतमा १५ लाख, जिल्ला शिक्षा कार्यालय मर्मतमा १७ लाख र पशु तालिम केन्द्रको छात्रावास तथा क्वाटर भवन मर्मतमा ५५ लाख रुपैया खर्च गरेको जनाएको छ ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले प्रदेश सभाले प्रत्येक मन्त्रालय भवनको मर्मत तथा फर्निचर खरिदका लागि २०/२० लाख रुपैयाँ विनियोजन गरेको बताए ।
डिभिजन कार्यालय प्रमुख बोहराले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय भवनको पुरानै टेण्डर भए पनि मन्त्रालयहरूमा सुरक्षा गार्ड कक्ष, पुरानो भवन मर्मत लगायतमा सो रकम खर्च भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार