२० बैशाख २०८१, बिहीबार

कैलालीमा लक्ष्यभन्दा बढी राजश्व संकलन



धनगढी । कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । कैलाली भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा आठ दशमलव ४४ प्रतिशत बढी राजश्व संकलन भएको छ ।
कैलाली भन्सार कार्यालय प्रमुख गोपीकृष्ण उप्रेतीका अनुसार गत आर्थिक वर्षमा चार अर्ब २० करोड रुपैयाँ राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा तीन अर्ब ८७ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । “हामीले लक्ष्यभन्दा ३३ करोड रुपैयाँ बढी अर्थात् एक सय नौ प्रतिशत राजश्व संकलन गरेका छौं” उनले भने ।
कैलाली भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा गत आर्थिक वर्ष २०७४/०७५ मा एक अर्ब २८ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा दुई अर्ब सात करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा दुई अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
कैलाली भन्सार कार्यालय अन्तर्गत त्रिनगर भन्सार नाका धनगढी तथा खक्रौला, सत्ती पृथ्वीपुर र बैशाखदेखि कञ्चनपुरको वेलौरी छोटी भन्सार नाका रहे पनि गत आर्थिक वर्षमा त्रिनगर भन्सार नाकाबाट नै झण्डै शतप्रतिशत राजश्व संकलन भएको तथ्यांकले देखाएको छ । भन्सार कार्यालय प्रमुख उप्रेतीका अनुसार गत वर्ष सात नम्बर प्रदेशमा नयाँ विकास निर्माण योजनाहरू सञ्चालन भएकाले राजश्व संकलनमा बृद्धि भएको हो ।
उनले भने– “अत्तरिया–धनगढी–त्रिनगर भन्सारसम्मको छ लेन सडक निर्माण तथा गेटा मेडिकल कलेजको निर्माण कार्य शुरु भएकाले निर्माण सामग्री र पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य बृद्धि भएको छ ।”
कैलाली भन्सार कार्यालयका अनुसार राजश्व संकलनमा सबैभन्दा बढी पेट्र्रोलियम पदार्थको योगदान रहेको छ । गत आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयबाट संकलन भएको कुल राजश्वमा पेट्रोलियम पदार्थको योगदान ४५ प्रतिशत रहेको छ । त्यस्तै, राजश्व संकलनमा बिस्कुट आयातबाट सात प्रतिशत, कागजको आयातबाट चार प्रतिशत, दालमोठ/पापडबाट तीन प्रतिशत, स्प्रिट आयातबाट दुई प्रतिशत र चामलको आयातबाट डेढ प्रतिशत राजश्व संकलनमा योगदान रहेको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार पछिल्लो पटक सूर्तीको कच्चा पदार्थ, पेन्ट्स, टायल, मार्बल, गाडीका टायर, ट्युव र ई–रिक्साको आयातमा पनि बृद्धि भइरहेको छ ।
कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा दोस्रो र तेस्रो चौमासिकमा बढि राजश्व संकलन भएको जनाएको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा छ करोड ६५ लाख ९२ हजार लिटर डिजेल आयात भएको थियो । डिजेलको आयातबाट एक अर्ब २३ करोड ६९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । त्यस्तै, एक करोड ३२ लाख ६९ हजार लिटर पेट्रोल आयातबाट ४६ करोड ७१ लाख रुपैयाँ र ५७ लाख ९५ हजार किलोग्राम खाना पकाउने ग्यासको आयातबाट आठ करोड २५ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यस्तै, चामल आयातबाट पाँच करोड ३१ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षमा सात नम्बर प्रदेशमा भारतबाट ८२ करोड ५३ लाख रुपैयाँ मूल्यको १७ हजार चार सय ५७ मेट्रिक टन चामल आयात भएको थियो । भन्सार कार्यालयले भारतबाट आयात भएको तरकारी, फलफूल, माछा लगायतका वस्तुको विस्तृत विवरण तयार गरिरहेको जनाएको छ ।
सात नम्बर प्रदेशमा गत आर्थिक वर्षमा भारतबाट पाँच अर्ब ५५ करोड ४३ लाख रुपैयाँको पेट्रोलियम पदार्थ खरिद भएको छ ।
त्यस्तै, नेपालबाट भारत निकासी भएका बस्तुबाट सात लाख १८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । नेपालबाट ६२ करोड ४५ लाख रुपैयाँ मूल्यका वस्तु निर्यात भएका थिए । कैलाली भन्सार कार्यालयका अनुसार नेपालबाट भारत निकासी हुने मुख्य वस्तु खयरबाट बनेको कत्थामा प्रति केजी पाँच रुपैयाँ राजश्व तोकिएको छ । नेपालबाट कत्थाका साथै रोजिन, कच र टर्पेन्टाइन भारत निकासी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार