२० बैशाख २०८१, बिहीबार

उपमहानगरपालिकाको वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक : पौने दुई अर्ब बढीको वार्षिक बजेट



धनगढी । धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यक्रम तथा बजेट शनिबार सार्वजनिक गरिएको छ ।
उपमहानगरपालिकाको तेस्रो नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्ष ०७५/७६ को कार्यक्रम र बजेटले पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकणर, शिक्षामा गुणात्मक सुधार, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार तथा सूचना प्रविधि तथा सञ्चारमा विकासलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै, वार्षिक कार्यक्रम तथा बजेटमा उद्यम तथा सहकारिताको विकास, मान संसाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड, सामुदायिक वनको संरक्षण र व्यवस्थापन तथा प्राकृतिक विपद् व्यवस्थापन पूर्व तयारीलाई प्राथमिकतामा राखिएको छ ।
उपमहनगरपालिकाले वार्षिक कार्यक्रम तथा बजेटका अन्य प्राथमिकताका क्षेत्रका रूपमा भादा होमस्टेलाई थप प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक केन्द्रको रूपमा विकास गर्ने, थारू संग्रहालयको प्रवद्र्धनको कार्यको निरन्तरता, धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण, वैदेशिक रोजगारमा जाने नेपाली कामदारको वैदेशिक रोजगार यात्रालाई सुरक्षित र उपलब्धीमूलक बनाउने र उनीहरूको कमाई तथा परिवारको सुरक्षा गर्ने नीतिलाई राखिएको छ ।
आगामी आर्थिक वर्षका लागि धनगढी उपमहानगरपालिकाले एक अर्ब ७९ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसमध्ये चालू खर्चतर्फ ८० करोड ४९ लाख (४४.८८ प्रतिशत) र पुँजीगततर्फ ९८ करोड ८५ लाख रुपैयाँ (५५.१२ प्रतिशत रहेको छ । चालू खर्चमा सामाजिक सुरक्षा कार्यक्रमको १६ करोड रुपैयाँ समेत समावेश भएको जनाइएको छ ।
उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट १३ करोड ८५ लाख रुपैयाँ बेहोरिने उल्लखे छ । त्यस्तै, वित्तीय समानिकरणमा २८ करोड ११ लाख २१ हजार, राजश्व बाँडफाँडमा ५९ करोड दुई लाख ९२ हजार र सशर्त अनुदानतर्फ ३६ करोड दुई लाख रुपैयाँ आय रहेको छ ।
त्यस्तै, आयतर्फ सामाजिक सुरक्षा कार्यक्रममा १६ करोड, सडक बोर्ड नेपालमा एक करोड, वैकल्पिक उर्जा कार्यक्रममा एक करोड, सीमा क्षेत्र विकास कार्यक्रममा एक करोड, क्षेत्रीय शहरी विकास आयोजनामा पाँच करोड, नगर विकास कोष अनुदान तथा ऋण गरी एक करोड तथा समपुरक कोष अनुदान (संघीय सरकार) पाँच करोड रुपैयाँ रहेको छ ।
त्यसैगरी, आगामी आर्थिक वर्षमा उपमहानगरपालिकाको आयतर्फ विशेष अनुदान (संघीय सरकार) पाँच करोड, प्रदेश सरकार समपुरक कोष अनुदान तीन करोड, प्रदेश सरकार विशेष अनुदान तीन करोड र अन्य आय एक करोड ३२ लाख ८७ हजार रुपैयाँ रहेको उल्लखे छ ।
त्यस्तै, व्ययतर्फ चालू खर्च सशर्त अनुदान ३६ करोड दुई लाख, सामाजिक सुरक्षातर्फ १६ करोड र अन्य चालू खर्चतर्फ २८ करोड ४७ लाख गरी कुल ८० करोड ४९ लाख रुपैयाँ व्यय अनुमान गरिएको छ ।
त्यसैगरी, पुँजीगत खर्चतर्फ क्षेत्रीय शहरी विकास आयोजनामा पाँच करोड २५ लाख, नगर विकास कोष कार्यक्रमतर्फ एक करोड १० लाख सडक बोर्ड नेपालतर्फ एक करोड ४० लाख, सीमा क्षेत्र विकास कार्यक्रमतर्फ एक करोड, वैकल्पिक उर्जातर्फ एक करोड ४० लाख र अन्य पुँजीगत खर्च ८८ करोड ७० लाख रुपैयाँ रहेको छ ।
कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोगका लागि आग्रह गरे ।

परिणाममुखी योजनाहरू अघि बढाऔं– मुख्यमन्त्री भट्ट
धनगढी । सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय तथा प्रदेश सरकारले परिणाममुखी योजनाहरू प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
“विगतदेखि अहिलेसम्म हामी सबैतिर हात हाल्न खोज्यौं, यसले राम्रो परिणाम दिएन” शनिबार धनगढी उपमहानगरपालिकाको तेस्रो नगर सभामा मुख्यमन्त्री भट्टले भने– “अब जनताको माग र आवश्यकता अनुसार योजनालाई प्राथमिकता दिएर परिणामुखी बनाउनेतर्फ केन्द्रीत हुनुपर्दछ ।” उनले प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले कृषि, जलविद्युत, पर्यटन र जडिबुटी प्रर्वद्धनमा जोड दिएको बताए । भने– “स्थानीय तहहरूले पनि निश्चित कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ ।”
मुख्यमन्त्री भट्टले धनगढीलाई प्रदेशकै नमुना नगर बनाउन पहल गर्नुपर्ने बताए । “धनगढीबाट नौ वटै जिल्लाका स्थानीय तहहरूले सिक्ने वातावरण बनाउनु पर्छ” उनले व्यवस्थित सडक तथा फोहोरमैला व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।
प्रदेश सभा सदस्य डिल्लीराज पन्तले प्रदेश सरकार र स्थानीय तहका केही योजनाहरू जुधेको चर्चा गरे । सांसद पन्तले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्ने बेला उपयुक्त विधि नअपनाएका कारण योजनाहरूमा दोहोरोपनको समस्या आएको बताए ।
प्रदेश सभा सदस्य सुशीला बुढाथोकीले प्रदेशको समृद्धिका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् । उनले प्रदेश सरकार नयाँ अभ्यास भएकाले सिक्दै, सिकाउँदै र काम गर्दै जानु नै अहिलेको राम्रो अभ्यास हुने बताइन् ।
प्रदेश सभा सदस्य टेकबहादुर रैकाले जनताका मागलाई पुरा गर्न स्थानीय तहहरू बढी जिम्मेवार हुनुपर्ने सुझाव दिए ।
नगर प्रमुख नृपबहादुर वडको अध्यक्षतामा असार १० गतेबाट शुरु भएको तेस्रो नगर सभा शनिबार समापन भएको हो ।
नगर सभाको धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीले सञ्चालन गरेका थिए ।
किशोर बम पत्रकारिता पुरस्कार घोषणा
धनगढी उपमहानगरपालिकाले पूर्व नगरप्रमुख स्वर्गीय किशोर बमको स्मृतिमा विकास पत्रकारिता पुरस्कार घोषणा गरेको छ । स्वर्गीय बम २०४९ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट तत्कालीन धनगढी नगरपालिकाका प्रमुखमा निर्वाचित भएका थिए ।
धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रस्तुत बजेट नीति तथा कार्यक्रमको शुक्रबार सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख नृपबहादुर वडले पूर्व नगर प्रमुख स्वर्गीय बमको स्मृतिमा विकास पत्रकारिता पुरस्कार घोषणा गरे ।
पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ । नगर प्रमुख वडले किशोर बम स्मृति पत्रकारिता पुरस्कारका लागि उपमहानगरपालिकाले अक्षयकोष निर्माण स्थापना गर्ने बताए ।
२०४९ देखि २०५४ सालसम्म तत्कालीन धनगढी नगरपालिकाका प्रमुख रहेका बमको २०७१ सालमा हृदयघातबाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार