सरकार, सहकारी र निजीबीच समन्वय– मुख्यमन्त्री
धनगढी । ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार, सहकारी तथा निजी क्षेत्रबीचको समन्वय र सहकार्य नै सरकारको नीति रहेको बताएका छन् ।
भूमी व्यवस्था, कृषि तथा सरकारी मन्त्रालयले धनगढीमा आयोजना गरेको सहकारी नीति निर्माण सम्वन्धी गोष्ठीको शुक्रबार समापनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्पष्ट रुपमा तीन खम्बे नीति उल्लेख भएको बताए ।
उनले सहकारी र जनताबीच महत्वपूर्ण सम्वन्ध रहने भएकाले यी तीन पक्ष मिलेर विकास यात्रामा अघि बढ्नु पर्ने दोहोर्याए ।
कार्यक्रम भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रदेश सभा सदस्य पूर्णा जोशीले सरकारले नसकेको र साझेदारी गर्न खोजेको क्षेत्रमा सहकारी संस्थाले लगानी बढाउनु पर्ने बताइन् ।
प्रदेश सभा सदस्य तारा लामा तामाङले सहकारी संस्था राम्रो भएको देशमा आर्थिक विकास राम्रा भएको चर्चा गरे ।
प्रदेश सभा सदस्य बिरभान चौधरीले कुनै एक क्षेत्र रोजेर अगाडी बढेमा सहकारी संस्थाहरू फस्टाउाने र जनताको जीवनस्तर माथि उठ्ने बताए ।
सहकारी सम्वन्धी नीति तथा कानून बनाउन प्रदेश नम्बर ७ का सबै जिल्लाका सहकारी संस्थाहरूसंग सल्लाह सुझावका लागि आयोजना गरेको गोष्ठीमा उपसचिव जगदीशचन्द्र शिवाकोटीले सरकारीको मूल्य मान्यता र सिद्धान्तबारे तथा सहकारी विज्ञ सुदर्शन ढकालले सहकारी नियम, प्रवद्धन र विकासमा प्रदेश सरकारको भूमीकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मन्त्रालयका उपसचिव लक्ष्मण खड्काले सञ्चालन गरेका थिए ।