१२ श्रावण २०८१, शनिबार

दलालको चंगुलमा युवा



धनगढी । छोटो समय र धेरै पैसा कमाउने लालसामा कैलालीका कतिपय युवा दिनानुदिन दलालको चंगुलमा फस्दै गएका छन् ।
अरूको देखासिखी, छोटो समया र रातारात मालामाल हुन पाइने भन्दै हतारमा राहदानी बनाएर दलाललाई रकम बुझाउँदा कतिपय युवा घरको न घाटको झैं भएका छन् ।
कक्षा ११ पढ्दै गरेका बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ रामपुरका रोहन चौधरीले ३६ हजार रुपैयाँ खर्च गरेर काठमाडौंबाट हतारमा राहदानी बनाए । उनले दलाललाई ५० हजार रुपैयाँ समेत दिए । तर, उनले विदेश जान पाएनन् ।
गत फागुनमा राहदानी बनाएका रोहनले चैत्र २० गते दलाललाई ५० हजार रुपैयाँ बुझाएको बताए । दलालले चैत्रमा नै विदेश उडाउने आश्वासन दिए पनि असार पहिलो सातासम्म पनि उन जान पाएका छैनन् । रोहनले समूहबाट ५० हजार रुपैयाँ ऋण लिएर एजेन्ट योगेश योगीलाई दिएको बताए । अहिले योगेश सम्पर्कबिहीन भएका छन् । पढाई छोडेर विदेश जान हतारिएका रोहनले ८६ हजार रुपैयाँ खर्च गरे, तर न उनले मलेसिया जान पाए, न सो रकम नै फिर्ता पाए ।
उनीसँगै मलेसिया जानका लागि योगेशलाई त्यति नै रकम बुझाएका सोही ठाउँका सोहन डंगौरा र अरविन्द चौधरी पनि ठगिएका छन् । उनलाई योगेशले पहिले चैत्रमा र पछि बैशाख तथा जेठमा उडाउने बताएको थियो ।
मलेसियामा काम गरेर फर्किएका बनिराम चौधरीको सम्पर्क मार्फत भिम चौधरी हुँदै योगेश योगीसम्म पुगेका यी तीनै जना अहिले दलालको खोजीमा छन् । “सुपर मार्केटमा काम पाइन्छ मासिक २० हजार पाउछौं भनेको थियो, अहिले आफै सम्पर्कबिहीन भएको छ” रोहनले भने ।
यता, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारी ‘डि’ गाउँका २८ वर्षीय रामबहादुर सुनारले १० लाख रुपैयाँ र घोडाघोडी नगरपालिका सुखडका २४ वर्षीय सागर सुनारले दलाललाई आठ लाख रुपैयाँ बुझाएको २२ महिना भइसक्यो । उनीहरूलाई दलाले जापान उडाउने आश्वासन दिएको थियो ।
२२ महिना अघिदेखि रामबहादुर र उनलाई जापान पठाउने भनेर पैसा लिएकी शारदा श्रेष्ठ अहिले सम्पर्कबिहीन भएकी छन् ।
२०७३ भदौं ७ गते नेपालबाट जापान जान भनेर उडेका रामबहादुर र सागर थाइल्याण्ड पुगे । त्यहाँ उनीहरूले दुई महिना बिताएर भियतनाम पुगे । भियतनाममा उनीहरूले १७ दिन बिताए । काठमाडौंमा लामो समय बिताएर जापानका लागि उडेका उनीहरू थाइल्याण्ड र भियतनाममा साढे दुई महिना बिताएर पुन: काठमाडौं फिर्ता भए । काठमाडौंमा ८२ दिन बिताएर उनीहरूलाई दिल्ली लगियो । काठमाडौंकी शारदा श्रेष्ठमार्फत भिजिट भिषामा जापान जाने आशैआशमा उनीहरू भारतको नयाँदिल्ली पुगे । शारदाले दिल्ली हुँदै जापान उडाउने भनेपछि उनीहरू दिल्ली पुगेको बताए । त्यहाँ उनीहरूले तीन महिना बिताए । त्यहाँबाट पनि जापान उड्न नपाएपछि उनीहरू नेपाल फर्किए ।
भिजिट भिषामा जापान जाने र त्यहाँ पुगेर शरणार्थी भएर बसेर धेरै रकम कमाउने लोभले रामबहादुरले १० लाख रुपैयाँ डुबाए । त्यस्तै, सागरले पटक पटक गरी शारदालाई आठ लाख रुपैयाँ दिएको बताए । उनले पाँच लाख रुपैयाँ चेकमार्फत र अरू नगद बुझाएको बताए । दुई कठ्ठा जमिन बेचेर जापान जान तम्सिएका रामबहादुर लामो समय र पैसा खर्च गरेर जापान उड्न नपाएपछि अहिले घरमै बसेका छन् ।
अहिले रामबहादुर फेरि मलेसिया जाने तयारीमा जुटेका छन् ।
त्यस्तै, भोजपुरका प्रदीपकुमार राईले पैसा लिएर सम्पर्कबिहीन भएपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारीका ६ जना युवाहरूले आफूहरू ठगिएको महसुस गरेका छन् ।
फूलवारीका २२ वर्षीय तिलक राई, २२ वर्षीय घनश्याम खनाल, २३ वर्षीय तेज खड्का, २१ वर्षीय रूपबहादुर मगर, २२ वर्षीय योगेश जोशी र २४ वर्षीय महेन्द्र रानामगरबाट ३९ हजार पाँच सय रुपैयाँका दरले रकम लिएर प्रदीपकुमार सम्र्पकबिहीन भएको बताइएको छ ।
प्रदीपले उनीहरूलाई जेठ मसान्तभित्र कतार पठाउने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार