यार्सागुम्बा संकलनमा दोहोरो कर
दार्चुला । दार्चुलामा यार्सागुम्बा संकलनमा दोहोरो कर लगाइएको छ । जिल्लामा दुई वटा स्थानीय सरकार र अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा संकलनमा छुट्टाछुट्टै कर लगाएका छन् ।
विगतका वर्षहरूमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट यार्सागुम्बा संकलन अनुमतिपत्र जारी हुँदै आएकोमा अहिले ब्यास र अपिहिमाल गाउँपालिकाले पनि कर उठाइरहेको बताइएको छ ।
अपिहिमाल गाउँपालिकाले वातावरण संरक्षण शुल्क र ब्यास गाउँपालिकाले यार्सागुम्बा संकलन अनुमतिपत्रका नाममा कर उठाइरहेको स्थानीयले बताए ।
यार्सागुम्बा संकलकमा ब्यास गाउँपालिकाले प्रतिव्यक्ति चार सय रुपैयाँ शुल्क उठाइरहेको छ । त्यस्तै, अपिहिमाल गाउँपालिकाले वातावरण संरक्षण शुल्कको नाममा प्रतिव्यक्ति पाँच सय रुपैयाँ संकलन गरिरहेको छ । अपिहिमाल गाउँपालिकाले शुरुमा यार्सा संकलन अनुमतिपत्रको नाममा शुल्क उठाए पनि पछिल्लो समय वातावरण संरक्षण शुल्क नाममा कर लगाएको छ ।
दुवै गाउँपालिकाको गाउँसभाबाट यार्सागुम्बा संकलकहरूबाट शुल्क उठाउने निर्णय गरिएको जनाइएको छ । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भन्दै प्राकृतिक स्रोतमा शुल्क लगाइएको गाउँपालिकाले जनाएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले भने यार्सागुम्बा संकलनको अनुमतिपत्र दिने अधिकार गाउँपालिकालाई नभएको बताएको छ । “यार्सागुम्बा संकलनको अनुमति दिने र शुल्क उठाउने अधिकार यो कार्यालयलाई मात्र छ” प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने– “कसैले यार्सा संकलन अनुमतिको नाममा शुल्क उठाएको छ भने त्यो गैरकानुनी हो ।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बा व्यवस्थापन निर्देशिका, २०७३ जारी गरेको छ । निर्देशिकामा ‘संरक्षण क्षेत्र कार्यालयले संकलनको परिमाण खुलाउनुका साथै संकलन अवधि तोकेर संकलन अनुमति दिने’ उल्लेख छ ।
निर्देशिकामा संरक्षित क्षेत्रभित्रको स्थानीय वासिन्दाको लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ अनुमति दस्तुर तोकिएको छ । संरक्षित क्षेत्र बाहिर तर दार्चुलाभित्रकै बासिन्दालाई प्रतिव्यक्ति दुई हजार रुपैयाा र जिल्ला बाहिरका प्रतिव्यक्तिलाई तीन हजार रुपैयाँ दस्तुर तोकिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा संरक्षण क्षेत्र संघीय सरकारको अधिकार क्षेत्र हुने उल्लेख गरिएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले अहिलेसम्म संरक्षण क्षेत्रभित्रका नागरिकबाट दस्तुर संकलन गरेको छ । संरक्षण क्षेत्रको कार्यालयका साथै विभिन्न ठाउँमा रहेका रेन्जपोष्टहरूबाट यार्सा संकलनको अनुमतिपत्र जारी गरिएको छ ।
अपिहिमाल र ब्यास गाउँपालिकाले भने शुल्क उठाउने टोली नै परिचालन गरेका छन् । यार्सा संकलन भइरहेका वन क्षेत्रमै गएर गाउँपालिकाको टोलीले शुल्क उठाइरहेको ब्यास गााउपालिका वडा नम्बर १, गागाका स्थानीय जीतसिंह बोहराले बताए ।
यार्सागुम्बा संकलनमा दोहोरो शुल्क लिन थालेपछि केही दिन अघि सरोकारवालाहरूबीच छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको समन्वयमा भएको बैठकले यार्सा संकलनबारे छलफल गरेको जनाइएको छ ।
केही दिनको चरणवद्ध छलफल र बैठकपछि गत जेठ ६ गतेको बैठकले अपिनाम्पा संरक्षण क्षेत्र परिषद् वा मातहतको उपभोक्ता समितिको सिफारिसमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा संकलन अनुमतिपत्र जारी गर्ने निर्णय गरेको थियो ।
निर्णयमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले अनुमतिपत्र जारी गर्ने भनिए पनि वन क्षेत्रमा भने गाउँपालिकाहरूले शुल्क उठाउने टोली परिचालन गरेका छन् । संरक्षण क्षेत्र कार्यालयअन्तर्गतको व्यास रेन्जपोष्टले जेठ १ देखि ६ गतेसम्म यार्सा संकलन अनुमतिपत्र जारी गरे पनि जिल्लास्तरको बैठकपछि अनुमतिपत्र दिने कार्य रोकिएको कर्मचारीहरूले बताए ।
रेन्जपोष्टका कर्मचारी वीरेन्द्रसिंह ठाकुरका अनुसार जेठ १ देखि ६ गतेसम्म ४६ जनालाई यार्सा संकलन अनुमति प्रदान गरिएको छ ।
जेठ ६ गतेको बैठकको निर्णयमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा संकलन अनुमतिपत्र जारी गर्ने उल्लेख भए पनि गाउँपालिकाहरूले शुल्क उठाउने अलिखित र गोप्य सहमति गरेको बताइएको छ ।
ब्यास र अपिहिमाल गाउँपालिकाले वनक्षेत्रमा गएर शुल्क उठाउने तथा उठेको शुल्क दुहु, नौगाड र मार्मा गाउँपालिकालाई समेत बाँडफाँट गर्ने सहमति भएको स्रोतले बतायो ।
दुवै गाउँपालिकामा उठेको शुल्कलाई सात भागमा बाडेर दुई/दुई भाग व्यास र अपिहिमाल गाउँपालिकालाई दिने तथा दुहु, नौगाड र मार्मा गाउँपालिकालाई एक/एक हिस्सा बाड्ने सहमति भएको राखुपा उपभोक्ता समिति ब्यासका अध्यक्ष ललितसिंह बोहराले बताए ।
यार्सागुम्बा संकलनबाट उठेको रकमको बढी हिस्सा प्रभावित गाउँपालिकामा बाड्नेबारे छलफल गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए ।
यार्सागुम्बा संकलन सम्बन्धि जेठ ६ गतेको बैठक अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिंह ह्याकीको अध्यक्षता भएको थियो । बैठकमा नौगाड, मार्मा, व्यास, दुहु र अपिहिमाल गाउँपालिकाका अध्यक्षहरूको समेत उपस्थिति रहेको बताइन्छ । त्यस्तै, दार्चुला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मदनसिंह बुढाथोकी र सदस्य कमलसिह धामी, जडिबुटी व्यवसायी संघका महासचिव गणेशसिंह बुढाथोकी र सदस्य नरेन्द्र ठगुन्नाको पनि उपस्थिति रहेको थियो ।
दार्चुला जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की र अपिनाम्पाका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय पनि बैठकमा आमन्त्रितका रूपमा सहभागी भएको निर्णय पुस्तिकामा उल्लेख छ ।