२९ कार्तिक २०८१, बिहीबार

नगरपालिकामा स्वास्थ्य राहत कोष स्थापना



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले विपन्न वर्गलाई सहज र सुलभ ढंगले स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य राहत कोष स्थापना गरेको छ । नगर क्षेत्रभित्रका विपन्न वर्गका नागरिकहरूको स्वास्थ्यसँग सम्बन्धित समस्याको व्यवस्थापन गर्ने उद्देश्यले राहत कोष स्थापना गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
घोडाघोडी नगरपालिकाका नगर स्वास्थ्य संयोजक हेमराज बुढाका अनुसार नगरपालिकाले १० लाख रुपैयाँ जम्मा गरेर राहत कोष सञ्चालनमा ल्याएको छ । उनका अनुसार राहत कोषबाट सहयोग रकम लिन आइतबारसम्म चार/पाँच जनाले आवेदन दिइसकेका छन् ।
नेपाल सरकारले विपन्न वर्गलाई लक्षित गरी क्यान्सर, हृदयघात, हेड ईन्जुरी, सिकलसेल लगायतका आठ प्रकारका रोगमा एक लाख रुपैयाँसम्मको नि:शुल्क औषधि उपचार गर्ने व्यवस्था गरेको छ । घोडाघोडी नगरपालिकाले यी बाहेकका अन्य रोगको उपचारमा विपन्न वर्गलाई राहतकोषमार्फत आर्थिक सहयोग गर्ने जनाएको छ ।
यससँगै नगर क्षेत्रको कुनै भागमा अथवा समुदायमा आउन सक्ने र कुनै प्रकारको महामारी संक्रमण वा अन्य प्रकारका स्वास्थ्य सम्बन्धी जोखिमको तत्काल न्यूनीकरणका लागि सहयोग पुर्‍याउने, जनताको स्वास्थ्यमा देखिने समस्यालाई लाभग्राही निवेदकको आर्थिक अवस्थाको आधारमा राहत उपलब्ध गराउने, नगरपालिका क्षेत्रभित्र पर्ने राजमार्गमा हुनसक्ने आकस्मिक सडक दुर्घटनाका पीडितलाई तत्काल सहयोग पुर्‍याउने राहत कोषको उद्देश्य रहेको जनाइएको छ ।
कोष परिचालनका लागि नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को (२) ले दिएको अधिकार प्रयोग गरी नगर कार्यपालिकाले स्वास्थ्य राहत कोष कार्यविधि, २०७४ बनाएको छ ।
राहत कोषबाट रकम सहायताको निर्णय गर्न, खर्च गर्न र सहायतामा दिएको रकमको अनुगमन गर्न नगर प्रमुखको अध्यक्षतामा समिति समेत गठन गरिएको छ ।
समितिले राहत लिने लाभग्राहीले पेस गरेको निवेदन र अन्य कागजात, डाक्टरको प्रेस्किप्सन, बील समेतका आधारमा दिन सकिने राहातको एकिन गरी निर्णय गरेर उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।
समितिले समस्याको प्रकृति हेरेर अधिकतम प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म राहत/आर्थिक सहयोग दिने निर्णय गर्न सक्ने, तर कुनै महामारी वा असाध्य रोगको फैलावट नियन्त्रण बाहिर भएमा यो हद लागू नहुने कार्यविधिमा उल्लेख छ ।
त्यस्तै, महामारीमा कुनै स्वास्थ्य सम्बन्धि प्रकोप आएमा कोषमा बचत रकमबाट समितिले निर्णय गरे बमोजिम रकम खर्च गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
राहत सहयोग लिन आउने रोगीले निवेदन साथ मेडिकल काउन्सीलमा दर्ता भएको मेडिकल डाक्टरको प्रेस्किप्सन, विलहरू पेश गर्नुपर्ने र राहात कोषबाट राहात लिने व्यक्ति विपन्न हुनु पर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार