४ जेष्ठ २०८१, शुक्रबार

कैलालीका स्थानीय तहको बजेट घटाइयो



धनगढी । संघीय सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा कैलालीका सबै स्थानीय तहका लागि अघिल्लो वर्षको तुलनामा रकम घटाएर विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा कैलालीका सबै १३ स्थानीय तहमा कुल चार अर्ब १७ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो रकम चालू आर्थिक वर्षको तुलनामा एक अर्ब सात करोड २१ लाख चार हजार रुपैयाँ न्यून हो ।
चालू आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाका सबै १३ वटै स्थानीय तहमा वित्तीय समानीकरणतर्फ तीन अर्ब ८० करोड पाँच लाख ६९ हजार र सशर्त अनुदानतर्फ एक अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ गरी पाँच अर्ब २४ करोड ५० लाख चार हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
सात नम्बर प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा सबैभन्दा बढी बजेट घटाएर विनियोजन गरिएको छ ।
बजेट वक्तव्यमा धनगढी उपमहानगरपालिकालाई वित्तीय समानीकरणतर्फ २७ करोड सात लाख र सशर्त अनुदानतर्फ ३६ करोड दुई लाख गरी ६३ करोड नौ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो रकम चालू आर्थिक वर्ष २०७४/७५ को तुलनामा नौ करोड ३० लाख २८ हजार रुपैयाँ न्यून हो । चालू आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारले धनगढी उपमहानगरपालिकाका लागि वित्तीय समानीकरणतर्फ ५२ करोड ९५ लाख ८७ हजार र सशर्त अनुदान तर्फ १९ करोड ४३ लाख ४१ हजार रुपैयाँसहित कुल ७२ करोड ३९ लाख २८ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले वर्तमान सरकार धनगढी उपमहानगरपालिकाप्रति पूर्वाग्रही भएको आरोप लगाए । शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ को वडाभेलामा उपमहानगर प्रमुख वडले भने– “संघीय सरकारले धनगढी उपमहानगरपालिकाप्रति विभेद गरेको छ ।” उनले आक्रोसित हुँदै भने– “धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसले जितेकोले संघीय सरकारले पूर्वाग्रही बनेर नौ करोड रुपैयाँ बढी रकम कम गरेर विनियोजन गरेको छ ।” उनले थपे– “तर, संघीय सरकारले धनगढीमा काँग्रेस समर्थक मात्रै बस्दैनन् भन्ने बुझ्नु पर्दछ । ”
उनले संघीय सरकारले सात नम्बर प्रदेशका ८८ वटा स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिका सबैभन्दा बढी रकम घटाएर विनियोजन गरेको बताए । ‘सात नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिकालाई नौ करोड बढी रकम घटाएर विनियोजन गरेको छ’ उनले भने– “वर्तमान सरकार धनगढीप्रति पूर्वाग्रही बनेको यो एक दृष्टान्त हो ।”
संघीय सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट अनुसार कैलालीको वर्दगोरिया गाउँपालिकामा वित्तीय समानीकरणतर्फ १० करोड १३ लाख र सशर्त अनुदानतर्फ छ करोड ४८ लाख गरी १६ करोड ६१ लाख रकम विनियोजन गरिएको छ । यो चालू आर्थिक वर्ष ०७४/७५ को तुलनामा पाँच करोड ८८ लाख ५७ हजार रुपैयाँले न्यून हो ।
चालू आर्थिक वर्ष बर्दगोरिया गाउँपालिकामा वित्तीय समानीकरणतर्फ १७ करोड ३० लाख २७ हजार र सशर्त अनुदानतर्फ पाँच करोड १९ लाख ३० हजार गरि २२ करोड ४९ लाख ५७ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
त्यस्तै, कैलालीकै जानकी गाउँपालिकामा नौ करोड १० लाख ३२ हजार रुपैयाँ कम गरेर विनियोजन गरिएको छ । भने जोशीपुर गाउँपालिकामा चार करोड ५४ लाख ८२ हजार रुपैयाँ घटाएर विनियोजन गरेको छ ।
संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा जानकी गाउँपालिकामा वित्तीय समानीकरणतर्फ १३ करोड ४४ लाख र सशर्त अनुदानतर्फ १४ करोड ५२ लाख गरी २७ करोड ९६ लाख रकम विनियोजन गरेको छ ।
त्यस्तै, जोशीपुर गाउँपालिकामा वित्तीय समानीकरणतर्फ १० करोड ९७ लाख र सशर्त अनुदानतर्फ नौ करोड ३६ लाख गरी २० करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, कैलालीकै चुरे गाउँपालिकामा वित्तीय समानीकरणतर्फ सात करोड ७६ लाख र सशर्त अनुदानतर्फ १५ करोड ८१ लाख रुपैयाँ गरी २३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो रकम चालू आर्थिक वर्ष २०७४/०७५ को तुलनामा दुई करोड २५ लाख ८८ हजार न्यून हो । चालू आर्थिक वर्ष २०७४/७५ मा चुरे गाउँपालिकामा वित्तीय समानीकरणतर्फ १८ करोड १४ लाख ८५ हजार तथा सशर्त अनुदानतर्फ सात करोड ६८ लाख तीन हजार रुपैया विनियोजन गरिएको थियो । चुरे गाउँपालिकामा संघीय सरकारले बजेट घटाएकोप्रति आक्रोसित हुँदै अध्यक्ष धनबहादुर रोक्कामगरले संघीय सरकारले बजेट कटौती गरेकाले प्रदेश सरकारले क्षतिपूर्ति गर्नुपर्ने बताए ।
त्यस्तै, आगामी आर्थिक वर्ष २०७५/७६ गोदावरी नगरपालिकामा वित्तीय समानीकरणतर्फ १९ करोड ५४ लाख र सशर्त अनुदानतर्फ २४ करोड ७७ लाख गरी ४४ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, गौरीगंगा नगरपालिकामा वित्तीय समानीकरणतर्फ १५ करोड ८६ लाख र सशर्त अनुदानतर्फ १३ करोड एक लाख गरी २८ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कैलालीकै घोडाघोडी नगरपालिकाका लागि आगामी आर्थिक वर्षमा वित्तीय समानीकरणतर्फ १९ करोड ३७ लाख र सशर्त अनुदानतर्फ २० करोड ७४ लाख गरी ४० करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
त्यस्तै, टीकापुर नगरपालिकामा वित्तीय समानीकरणतर्फ १८ करोड ७४ लाख र सशर्त अनुदानतर्फ २० करोड ८५ लाख गरी ३९ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भजनी नगरपालिकामा वित्तीय समानीकरणतर्फ १४ करोड २८ लाख र सशर्त अनुदानतर्फ १२ करोड ४० लाख समेत २६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ । भने लम्कीचुहा नगरपालिकामा वित्तीय समानीकरणतर्फ १८ करोड ३४ लाख र सशर्त अनुदानतर्फ १८ करोड ११ लाख गरी ३६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, मोहन्याल गाउँपालिकामा वित्तीय समानीकरणतर्फ आठ करोड ३७ लाख र सशर्त अनुदानतर्फ १३ करोड ३५ लाख गरी २१ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कैलारी गाउँपालिकामा वित्तीय समानीकरणतर्फ १४ करोड ११ लाख र सशर्त अनुदानतर्फ १३ करोड ८९ लाख गरी २८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार