२५ पुष २०८१, बिहीबार

मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक



धनगढी । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा मंगलबार प्रदेश नम्बर सातका मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक भएको सम्पत्ति विवरणमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर वोहरा सबैभन्दा धनी देखिएका छन् । भने मुख्यमन्त्री त्रिचोलन भट्ट सबैभन्दा गरिब देखिएका छन् ।
सात नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री भट्टका दाजु शालिग्राम भट्ट र श्रीमति दुर्कादेवी भट्टका नाममा डोटीको केआइसिंह गाउँपालिका वडा नम्बर ६ मा साढे २० रोपनी जग्गा र एक घर रहेको छ । मुख्यमन्त्री भट्टको बैंक खातामा ७० हजार रुपैयाँ मौजाद तथा उनीसँग एक तोला सुन र १५ तोला चाँदी रहेको छ । सम्पत्ति विवरणमा मुख्यमन्त्री भट्टसँग एक गाई, एउटा मोबाइल फोन र एउटा हातेघडी रहेको छ भने उनका नाममा एक लाख ४० हजार रुपैयाँ वित्तीय ऋण तथा दुई लाख रुपैयाँ व्यक्तिगत ऋण रहेको छ ।
सम्पत्तिका विवरणअनुसार आर्थिक मामिला तथा योजनामन्त्री वोहरा सबैभन्दा धनी देखिएका छन् ।
मन्त्री बोहराका श्रीमति दुर्गाका नाममा कैलालीको धनगढी–४, लम्कीचुहा–३, टीकापुर–९ मा गरी तीन बिघा एक कठ्ठा सात धुर जमिन रहेको छ भने श्रीमति वोहराकै नाम काठमाडौं–७ र ४ मा क्रमश: १–३–१–३ रोपनी र १६०९ वर्गमिटर जमिन रहेको छ । मन्त्री वोहरा स्वयंका नाममा काठमाडौं–४ मा १५९८ वर्गमिटर, कैलाली गोदावरी–२ मा चार रोपनी १० आना र टीकापुर–९ मा दुई कठ्ठा तथा उनका छोरा कृष्णका नाममा गोदावरीमा एक रोपनी जग्गा रहेको छ ।
मन्त्री बोहरासँग ६ लाख ४५ हजार ८६४ रुपैयाँ बैंक मौज्दात र तीन वटा जीपकार रहेका छन् । विगतमा विभिन्न बैकको नेतृत्व समेत गरेका वोहराको कैलाली र काठमाडौंका विभिन्न ठाउँमा जग्गा रहेको छ । वोहरा मात्रै निजी कार भएका एकमात्रै मन्त्री हुन । ४० तोला सुन र छ लाख ४८ हजार नगद भएका वोहराको साढे सात करोड रुपैयाँ बढीको सेयर लगानी र पौने २० करोड रुपैयाँ बैंक ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्ति विवरणमा मन्त्री वोहराका घरहरूको भने उल्लेख छैन ।
मन्त्री वोहरापछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह धनी देखिएका छन् । सम्पत्ति विवरणअनुसार मन्त्री शाहका श्रीमति लक्ष्मी भट्ट शाहका नाममा काठमाडौं गोठाटार–८ मा एक घर तथा ०–०–३–२ रोपनी, धनगढी–४ मा छ कठ्ठा आठ धुर र कञ्चनपुर दैजी–८ मा १६९३.१५ वर्गमिटर जमिन रहेको छ । त्यस्तै मन्त्री शाहका दाजु डम्मरबहादुर शाहका नाममा बाजुराको बुढिगंगा–६ मा १२०५ वर्गमिटर जमिन र एक घर, र ९७८० वर्गमिटर जग्गा रहेको छ ।
त्यस्तै, मन्त्री शाहसँग एक थान स्कुटर र ५२ तोला सुन रहेको छ । त्यस्तै, उनको चार लाख ६५ हजार सेयर लगानी रहेको छ भने सात लाख २० हजार वित्तीय ऋण रहेको छ । मन्त्री शाहसँग एउटा भैंसी र एउटा बाख्रा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
सम्पत्ति विवरणअनुसार प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी तेस्रो नम्बरमा धनी रहेका छन् ।
उनका बुबा लोकबहादुर सोडारीका नाममा कैलाली गौरीगंगा–७ मा १५ कठ्ठा जग्गा र एक घर, अछामको मंगलसेन–१२ मा चार रोपनी जग्गा र घर, तथा वडा नम्बर १४ मा चार रोपनी जग्गा रहेको छ ।
त्यस्तै, मन्त्री सोडारीका श्रीमति गीता सोडारीका नाममा धनगढी–१ मा एक कठ्ठा १३ धुर जग्गा र एक पक्की तथा एक कच्ची घर रहेको छ भने बबि मसला उद्योगका नाममा एक कठ्ठा जमिन र एक घर रहेको छ । त्यस्तै, उनका दाजु कल्याण सोडारीका नाममा कैलालीको गौरीगंगा–५ मा पाँच कठ्ठा जमिन तथा लम्कीचुहा–२ मा दुई कठ्ठा जमिन र एक घर रहेको छ भने भाइ नरबहादुर सोडारीका नाममा गौरीगंगा–५ मा छ कठ्ठा र घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
त्यस्तै, मन्त्री सोडारीसँग पाँच लाख ६० हजार बैंक मौज्दात, एक थान मोटरसाइकल, छ तोला सुन र २० तोला चाँदी रहेको छ ।
उनको दुई हजार रुपैयाँ सेयर लगानी, एक लाख व्यक्तिगत ऋण रहेको छ भने १० वटा बाख्रा र दुई वटा गोरु रहेका छन् ।
त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराका नाममा पर्शुराम–३ मा १६–४–०–१ रोपनी जग्गा र घर तथा वडा नम्बर ४ मा तीन रोपनी जग्गा रहेको छ । त्यस्तै उनका बुबा भवानसिंह बोहराका नाममा डडेल्धुराको पर्शुराम–४ मा १०–५–२–१ रोपनी जग्गा र घर, पत्नी मौनीदेवीका नाममा अमरगढी नगरपालिका–३ मा ०–१–३–३ रोपनी जग्गा र उनका बाजे गोपी बोहराका नाममा परशुराम–३ मा १–६–०–३ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
सम्पत्ति विवरणमा मन्त्री बोहरासँग चार तोला सुन र आधा केजी चाँदी तथा दुई लाख ६४ हजार रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख छ ।
उनीसँग साढे पाँच हजार सेयर लगानी, एक लाख रुपैयाँ बैंक ऋण रहेको छ भने दुई थान मोबाइल तथा गाई, भैंसी, बाख्रा, र गोरु रहेका छन् ।
त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टका नाममा बैतडीको दशरथचन्द–५ मा १–०–१–१ रोपनी जग्गा र घर रहेको छ ।
त्यस्तै, मन्त्री भट्टसँग पाँच लाख रुपैयाँ बैंक मौज्दात, एक थान मोटरसाइकल र १५ तोला सुन रहेको उल्लेख छ ।
उनको २० लाख ६५ हजार सेयर लगानी तथा २५ लाख रुपैयाँ बैंक ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री भट्टसँग अफसेट प्रेस, ठेक्कापट्टा व्यावसाय र ३५ वटा मौरीघार रहेका छन् ।
त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीका श्रीमान परशुराम चौधरीका नाममा कैलालीको भजनी–४ मा एक बिघा चार कठ्ठा जग्गा र घर रहेको छ ।
उनीसँग ५० हजार बैंक मौज्दात, सात तोला सुन, ३५ तोला चाँदी तथा एक थान मोटरसाइकल रहेको छ । मन्त्री चौधरीको ६२ हजार पाँच सय सेयर लगानी रहेको छ ।
सम्पत्ति विवरणमा मन्त्री चौधरीसँग १० कठ्ठा जमिनमा केरा खेती, एक पावरट्रिलर ट्याक्टर र दुई राँगा रहेका छन् भने उनको एक लाख बैंक ऋण रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार