१९ बैशाख २०८१, बुधबार

वाणिज्य बैंकबाट ठगिएको सेवाग्राहीको गुनासो



बझाङ । राष्ट्रिय वाणिज्य बैक बझाङ शाखामा चेकबाट रकम भुक्तानी लिन आउने ग्राहकले आफूहरू ठगिने गरेको गुनासो गरेका छन् ।
ग्राहकहरूले बैंकका कर्मचारीहरूले प्राय: चेकमा उल्लेखित रकमभन्दा कम भुक्तानी दिने गरेको आरोप लगाए ।
खप्तड छान्ना गाउँपालिका वडा नम्बर ५ का ईन्द्र गिरीले आफूले एक लाख ८३ हजारको चेक साट्दा बैंकका कर्मचारीले १७ हजार रुपैयाँ कम भुक्तानी दिएको आरोप लगाए ।
उनले भने– चेकको भुक्तानी लिएर कोठामा आएर गने, १७ हजार रुपैयाँ कम रहेछ । तुरुन्त बैंकमा गएर गुनासो गरे, तर कर्मचारीहरूले उल्टै हप्काएर फिर्ता पठाए ।
उनले बैंकमा जडान गरिएको सिसिटिभी क्यामेराको फुटेज हेर्न माग गरेपछि बैंकका क्यासिएर भरत गिरीले ‘अहिले निकै भिड छ, पछि आएर रकम लिएर जानु होला’ भने, तर पछि जाँदा ‘हामीले पुरै रकम भुक्तानी दिएका हौं, बैंकको काउन्टरबाट रकम बुझिसकेपछि बैंक जवाफदेही नहुने’ भन्दै फर्काएको बताए ।
त्यस्तै अठार लाख रुपैयाँको चेक साट्दा आफूलाई २५ हजार रुपैयाँ कम भुक्तानी दिएको सुर्मा गाउँपालिका वडा नम्बर ५ का चक्र बोहराले दावी गरे ।
उनले आफूले सिसिटिभीको फूटेज हेर्न माग गरे पनि बैंक कर्मचारीले नमानेको बताए ।
राष्ट्रिय वाणिज्य बैंकको बझाङ शाखामा चेकको भुक्तानी गर्न आउने प्राय: ग्राहक एक लाख रुपैयाँको गड्डीमा हजार, पाँच सय रुपैयाँ कम हुनु सामान्य झैं भएको बताउँछन् । खप्तड छान्ना वडा नम्बर ७ का वीरेन्द्र सिंहले भने– “हजार, पाँच सय कम भएपछि उल्टै लाजले ग्राहक बैंकमा गुनासो गर्न जाँदैनन् ।”
उनका अनुसार एक साता अघि एक लाख रुपैयाँको चेक साट्दा एक हजार रुपैयाँ कम भएको थियो । उनले भने– “त्यो रेडियो खप्तड आवाजको चेक थियो । चेक साटेर रकम लिए पछि मैले पनि बैंकभित्रै गनिन् । एक हजार नोटको पुरै गड्डी थियो । ठिकै होला भन्ने लागेको थियो । कोठामा पुगेर गन्दा त एक हजार रुपैयाँ कम थियो । अचम्ममा परे । चारपाँच पटक गन्दा पनि एक हजार रुपैयाँ कम भयो । बैंकमा सोबारे गुनासो गर्न आफैंलाई लाज लाग्यो ।
उता, राष्ट्रिय बाणिज्य बैंकका बझाङ शाखा प्रबन्धक गोपालजंग बहादुर सिंहले आफूलाई ग्राहक ठगिएको बारे कुनै जानकारी नआएको बताए ।
उनले आफ्ना कार्मचारीबाट यस्तो बदमासी हुन्छ भन्ने विश्वास नलागेको बताए । ‘तर पनि यसबारे छानबिन गर्छु र यदि बदमासी भएको पाइयो भने, कारबाही हुन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार