२० बैशाख २०८१, बिहीबार

प्रदेश बजेटमाथिको बहस शुरु



धनगढी । प्रदेश नम्बर ७ का अधिकांस सांसदहरूले सरकारले प्रस्तुत गरेको अल्पकालीन बजेटमा अनुत्पादक क्षेत्रमा बढी रकम विनियोजन गरिएको टिप्पणी गरेका छन् ।
सांसदहरूले बजेटमा गरिएको विनियोजनले आर्थिक अनुशासनहीनता बृद्धि हुने पनि आरोप लगाए । प्रदेश सांसदहरूले बजेटले प्रमुख विकास निर्माण आयोजनाप्रति ध्यान नदिएको पनि आपत्ति व्यक्त गरे ।
सरकारले आइतबार प्रस्तुत गरेको अल्पकालीन बजेटमाथि प्रदेश सभा (संसद) मा सोमबारदेखि शुरु भएको छलफलमा भाग लिएका अधिकांस सांसदले बजेटले आम जनतामा आशा सञ्चार गर्न नसकेको टिप्पणी गरे ।
सोमबारको संसद बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर विनियोजन विधेयक माथिको छलफल शुरु गर्न पेस गरेको प्रस्ताव पारित भएपछि बजेटमाथिको छलफल अघि बढेको थियो ।
विनियोजन विधेयक तथा बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद रणबहादुर रावलले बजेट वक्तव्यमा अनुदान शीर्षकमा धेरै रकम विनियोजन गरिएकाले अनुत्पादक क्षेत्रमा बढी लगानी हुने सम्भावना रहेको टिप्पणी गरे ।
सांसद रावलले बजेटमा अत्याधिक चालू खर्च विनियोजन गर्नुका साथै अर्थ विविध शीर्षकमा ठूलो रकम राखिनुले आर्थिक अनुशासनहीनता बढ्ने दावी गरे । उनले भने– सत्तापक्षीय नेता तथा कार्यकर्ताहरूलाई राहत पुर्‍याउन अर्थ विविध शीर्षकमा बढि बजेट विनियोजन गरिएको छ ।
काँग्रेसकै सांसद श्यामलाल रानाले बजेटले जनतामा निराशा बाँडेको बताए । उनले चालू आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहेको अवस्थामा सबै बजेट खर्च गर्न सकिने र काम पुरा हुने अवस्था नरहेकोले विभिन्न क्षेत्रका सम्भाव्यता अध्ययनका नाममा चार करोड रुपैयाँ विनियोजन गरेकाले रकम दुरुपयोग हुने खतरा बढेको आरोप लगाए । उनले बजेट वक्तव्यमा छुट्टयाइएका आयोजनाहरूमा पनि खर्च कसरी गर्ने भन्ने स्पष्ट नभएको दावी गरे ।
बजेटमाथिको छलफलमा भाग लिँदै एमाले सांसद हर्कबहादुर कुँवरले बजेटमा विकास आयोजनाहरूमा रकम विनियोजन नभएकोमा आपत्ति जनाए । सांसद कुँवरले सेती लोकमार्ग, खुटिया–दिपायल सडक, चिसापानी–मंगलसेन सडक लगायतका आयोजनाका लागि बजेट बिनियोजन नभएकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले ती सडक आयोजनामा प्रदेश सरकारको बजेटले नभ्याउने स्थिति भए संघीय सरकारसँग समन्वय गरिने कुरा कार्यक्रमको रूपमै बजेटमा ल्याउन माग गरे । उनले प्रदेश सरकारको आयस्रोतको रूपमा करको दायरा के कस्तो हुने भन्ने स्पष्ट नभएको बताए ।
एमालेका अर्का सांसद रतनबहादुर थापाले समय थोरै भए पनि भौतिक पूर्वाधार निर्माणमा बजेट बिनियोजन हुनुपर्ने माग गरे । उनले सम्भाव्यता अध्ययनका नाममा छुट्टयाइएको बजेटलाई सम्भाव्यताभन्दा पनि कुनै परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न खर्च गर्न सुझाव दिए ।
एमालेका अर्का सासंद माया तामाङ बोहराले बजेटले विकास निर्माण आयोजनालाई प्राथमिकतामा नराखेकोमा आपत्ति व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका सांसद शान्ति नेपालीले पूर्व बजेट छलफलका क्रममा विभिन्न जिल्लाबाट प्राथमिकतामा परेका आयोजनाहरूमा बजेट बिनियोजन हुन नसकेकोमा दु:ख व्यक्त गरिन् ।
प्रदेश सभाको अर्को बैठक आज बिहान ११ बजे बस्दैछ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार