२० बैशाख २०८१, बिहीबार

फ्रि भिषा, फ्रि टिकटसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन गर्छौं– विभाग



काठमाडौं । वैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्सालले छिट्टै नै फ्रि भिषा–फ्रि टिकटसम्बन्धी व्यवस्था पूर्णरूपमा कार्यान्वयन गरिने बताएका छन् ।
नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) ले शुक्रबार राजधानीमा आयोजना गरेको प्रवासी श्रमिक सम्बन्धी अन्तरक्रियामा निर्देशक लम्सालले विभागले एक/दुई महिनाभित्रै फ्रि भिषा, फ्रि टिकटसम्बन्धी व्यवस्था पूर्णरूपमा लागू गर्ने बताए । उनले भने– ‘वैदेशिक रोजगार विभागले यसका लागि आवश्यक गृहकार्य गरिरहेको छ ।’
निर्देशक लम्सालले अनाधिकृत एजेन्टहरू हटाउने बारे पनि गृहकार्य भइरहेको बताए । ‘अब वैदेशिक रोजगार व्यावसायका एजेन्टहरूले अरुको पासपोर्ट बोकेर हिंड्ने अवस्थाको अन्त्य हुनेछ’ उनले थपे ।
कार्यक्रममा श्रमिक नेता एवं सांसदहरूले मुलुकको उर्जावान जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने कार्य बन्द गरिनुपर्ने माग गरे ।
अन्तरक्रियामा सहभागीहरूले स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गर्नेतर्फ सरकारले ध्यान दिन पनि आग्रह गरे ।
कार्यक्रममा सांसद संजयकुमार गौतमले ‘ए’ क्लासका नागरिकलाई विदेश पठाएर ‘सी’ क्लासका नागरिक निर्यात गर्ने अवस्थाको अन्त्य गर्न वैदेशिक रोजगारको आकर्षणलाई कम गर्नुपर्ने बताए ।
उनले भने– ‘ब्रेन र मसल्स निर्यात गरेर हामीले कल्पना गरेको आर्थिक समृद्धि पुरा हुँदैन । त्यसैले विदेश नजाऊ भन्नुभन्दा पनि स्वेदशमै उद्योगधन्दाको विकास गरेर रोजगारीका अवसरहरू सिर्जना गर्नेतर्फ ध्यान दिइनु पर्दछ ।
राष्ट्रिय सभा सदस्य धना खतिवडाले एकैचोटी वैदेशिक रोजगारीको अन्त्य गर्न नसकिने बताइन् । उनले भनिन्– सीपयुक्त जनशक्ति तयार गरेर मात्र वैदेशिक रोजगारीमा पठाउने अवस्थाको सिर्जना गरिनु पर्दछ ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेसका कोषाध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीमा पठाउने कामलाई बन्द गराउनुपर्ने बताए । उनले भने– श्रमिकहरूलाई स्वदेशमै जीविकोपार्जन गर्न पुग्नेगरी तलव सुविधा दिनसक्ने अवस्था र पर्याप्त रोजगारी दिलाउन सकिए मात्रै यसको अन्त्य हुने छ ।
उनले ट्रेड यूनियनहरूले वैदेशिक रोजगारीको मुद्दालाई घनिभूत ढंगले उठाउनु पर्ने बताए ।
कार्यक्रममा काउन, नेपालका अध्यक्ष जेवी गुरुङ, महासचिव प्रदीप आचार्य लगायतले वैदेशिक रोजगारमा निर्माण श्रमिक र अन्यको हकमा पनि श्रमलाई व्यवस्थित र मर्यादिन बनाउन अन्तर्राष्ट्रिय निर्माण श्रमिक संगठनको सहकार्यमा काम भइरहेको चर्चा गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता रेशमराज रेग्मीले श्रमिकहरू गाउँदेखि नै ठगिने अवस्थाको अन्त्य गर्न सबैको पहल आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार