२० बैशाख २०८१, बिहीबार

एक साताभित्रै अल्पकालीन बजेट आउँदै



धनगढी । प्रदेश नम्बर ७ को सरकारको अल्पकालीन बजेट एक साताभित्र आउने भएको छ । प्रदेश सरकारले गत चैत्र महिनाभित्रै अल्पकालीन बजेट ल्याउने बताए पनि नीति तथा कार्यक्रममा बहस लम्बिएको तथा आवश्यक विधि र प्रक्रियाका कारण केही ढिलाई भएको बताइएको छ ।
आगामी असार मसान्तसम्म खर्च गर्ने गरी प्रदेश सरकारले एक अर्ब दुई करोड रुपैयाँको अल्पकालीन बजेट ल्याउने तयारी गरिरहेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले तीन महिनाभित्र काम गर्न सकिने खालका योजना राखेर बजेट निर्माण हुने बताए । उनले भने– यो अल्पकालीन बजेट भएकाले धेरै महत्त्वाकांक्षी र धेरै योजना राखिने छैन । उनले सीमित अवधिमा काम गर्न सकिने योजनामात्रै प्राथमिकतामा राखिएको बताए ।
प्रदेश सरकारको अल्पकालीन बजेटमा दीर्घकालीन र मध्यकालीन विकास आयोजनाका सम्भाव्यता अध्ययन, मलवीउ, मलखाद सहित कृषि क्षेत्रमा अनुदान, पर्यटन प्रवद्र्धन, खाद्यान्न उत्पादन बृद्धिलाई प्राथमिकतामा राखिएको उनले बताए । ‘दुईतीन दिनभित्रै बजेट तयारी पुरा हुन्छ’ आर्थिक मामिला तथा योजना मन्त्री बोहराले सरकारको नीति र कार्यक्रममाथिको बहस केही लम्बिएकोले बजेट ल्याउन केही ढिलाई भएको बताए ।
उनले मन्त्रालयमा जनशक्तिको केही अभाव भए पनि बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।
‘संसदको विधि र प्रक्रिया पुरा गर्नुपर्ने तथा विनियोजन विधेयक समेत ल्याउनुपर्ने भएकाले केही समय लागेको हो’ उनले भने– ‘अब बढिमा एक साताभित्र बजेट आउँछ ।’
सरकारको नीति र कार्यक्रम सोमबार मात्र पारित भएको थियो ।
प्रदेश सरकारको पहिलो बजेट भएका कारण सबै मन्त्रालयबाट प्रस्तावित योजनाको व्यवस्थापनमा कठिनाई भएको बताइन्छ । अल्पकालीन बजेटमा समावेश गर्नका लागि विभिन्न मन्त्रालयबाट ठूला आकारका योजना माग गरिएकाले पनि व्यवस्थापन गर्न केही कठिनाई भएको बताइन्छ ।
प्रदेश सरकारले संविधानको व्यवस्थाअनुसार आगामी असार १ गतेभित्रै आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि पूर्ण बजेट ल्याउने जनाएको छ ।
प्रदेश सरकारको पूर्ण बजेटको आकार २० अर्ब रुपैयाँको हाराहारीमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार