४ जेष्ठ २०८१, शुक्रबार

‘स्क्रव टाईफस’को जोखिम बढ्दै



धनगढी । डडेल्धुरा पर्शुराम नगरपालिकाकी २५ वर्षीया लक्ष्मी महरालाई गत असोजमा अचानक ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखा पर्‍यो । ज्वरो तथा टाउको दुख्न थालेपछि उनी नजिकको स्वास्थ्य चौकीमा पुगेर सामान्य औषधि लगेर सेवन गरिन् । औषधि सेवन गरेर केही समय ठिक भएपछि पुन: सोही ज्वरो बल्झियो ।
स्वास्थ्य चौकीको औषधिले कुनै काम नगरेपछि लक्ष्मीका श्रीमान जनक महराले भारतको वरेलीस्थित निजी अस्पतालमा लगेर चेकजाँच गराए । चेकजाँच गरेपछि उनलाई थाह भयो– लक्ष्मीलाई ‘स्क्रव टाईफस’ भएको रहेछ ।
आर्थिक अवस्था नाजुक भएका जनकले श्रीमतीको उपचार भारतमा गर्न नसकेपछि गत पुसमा सेती अञ्चल अस्पतालमा ल्याएर उपचार गराइरहेका छन् । टाईफसका कारण स्वास्थ्य अवस्था विग्रदै गएकी लक्ष्मीलाई ४५ दिन अस्पतालको आईसियू कक्षमा राखिएको जनकले बताए ।
‘आईसियूमा राख्न सक्ने पैसा नभएपछि ४५ दिनपछि मेडिकल वार्डमा राखिएको छ’ उनले भने ‘पैसा अभावकै कारण श्रीमतीको उपचार गराउन सकिएको छैन् ।’ पैसा अभावकै कारण उनलाई अहिले मेडिकल वार्डमा राखिएको जनकले बताए ।
आइतबार दिउसो हामी (सञ्चारकर्मी) उनको उपचार भइरहेको स्थानमा पुग्दा उनलाई नर्सहरूले स्याहारी रहेका थिए । उनको स्वास्थ्य अवस्था नाजुक रहेको उनीहरू एकापसमा कुरा गरिरहेका थिए । लामो समयदेखि भारत तथा नेपालका विभन्न अस्पतालमा उपचार गराउदा परिवारसँग भएको रकम सकिएको लक्ष्मीका श्रीमान जनकले बताए । आर्थिक संकटका कारण अन्य अस्पतालमा उपचार गराउन नसकेको बताए । लक्ष्मीको अहिले घाँटीमा समस्या देखिएको उनले जानकारी दिए ।
उनको उपचारका लागि विभिन्न क्षेत्रलाई आर्थिक सहयोग गरीदिन महराले अनुरोध गरे । यसैबीच लक्ष्मीको उपचारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आइतबार नौ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेको संघका कैलाली उपाध्यक्ष प्रेमकला सोव बताइन् ।
स्क्रब टाईफसको संक्रमण मुसामा पाइने किर्नाका कारण हुने डाक्टर शेरबहादुर कमरले बताए । जापानमा पत्ता लागेकाले किटाणुलाई सुसुगामी भनिने उनले बताए । ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखिएमा चिकित्सकसँग चेकजाँच गराई औषधि सेवन गर्नुपर्ने बताए । उनले सामान्य समझेर हेल्चत्र्याई गरेमा समस्या हुने देखिन्छ ।
यो रोगका विरामी विगत तीन/चार वर्षयता नेपालका विभिन्न स्थानमा देखिन थालेका छन् । सामान्यतया वर्षा शुरु भएपछि वैशाखदेखि असोजसम्म यो रोगको देखिने गरेको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाईजर हरिप्रसाद भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार