२० बैशाख २०८१, बिहीबार

धनगढीमा पनि पैचो पसल, कृषिलाई प्राथमिकतामा राख्छौं : मन्त्री बोहरा (पैचोका निर्देशक ध्रुव न्यौपानेको अडियोसहित)



धनगढी । सात नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट वोहराले कृषिमा आत्मनिर्भर निर्भरता बढाउने गरेर आगामी बजेट विनियोजन गर्ने बताएका छन् ।
धनगढीमा पनि विस्तार भएको पैचो पसलको शनिबार उद्घाटन गर्दे उनले असारमा आउने बजेटमा हामीले आउँदो वर्षलाई कृषिमा आत्मनिर्भर वर्षका रूपमा लैजाने बताए ।
पहाड र पिछडिएको समुदायलाई पैचो पसलमा जोड्नुस्, प्रदेश सरकार आवश्यक सहजीकरण गर्न तयार छ, उनले भने, अब कृषिमा जोखिम हुन्न हरेक चुनौतिमा हामी सहयोग गर्न तयार छौं ।
प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बालीनालीमा मौसमी सूचांक बीमा शुरु गर्ने योजना बनाइरहेको पनि मन्त्री बोहराले बताए । प्रसस्त उत्पादन छ तर बजारको अभाव छ अब कृषिबाटै स्वरोजगार हुने गरेर अघि बढ्नुपर्छ, उनले भने ।
पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरूले उब्जनी गरेका कृषि उपजलाई कच्चा पदार्थ बनाउँदै खाद्य उत्पादन शुर गरेको पैचो पसलले सात नम्बर प्रदेशका उत्पादनलाई पनि बजारमा ल्याउने तयारी गरिरहेको पैचोले जनाएको छ ।
निर्देशक ध्रुवराज न्यौपानेले किसानहरूसँग पैचो लिएर बजारीकरण गर्दै आएकोे पैचोले, पैचो ब्राण्डका २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको बताए । उनले पैचाले आठ प्रकारका पैचो अचार, पैचो होल क्यान कर्न, पैचो कोदोको पिठो, पैचो टोमेटो केचअप, पैचो जाम, विभिन्न प्रकारका, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरू गरिरहेको जानकारी सो अवसरमा दिए ।
लामो समयदेखि शहरमा बसोबास गर्दै आए पनि गाँउवस्तीको खाद्य परिकारलाई भुल्न नसकेका उपभोक्तालाई सहज ढंगले कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएको पैचोले दावी गरेको छ । ‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मूल नाराका साथ तीन वर्ष पहिले गुल्मी जिल्लाको रुरु गाउँपालिका–७, रिडीबाट पैचोले खाद्य उत्पादन सुरु गरेको थियो ।
पहाडी जिल्लाका युवाहरू विदेशीनबाट रोक्न र स्वदेश मै रोजगार प्रदान गर्न पैचो अभियानले सानै भएपनि भूमिका खेल्ने विश्वास पैचो समूहले गरेको छ । सो अवसरमा जारी गरिएको विज्ञप्तिमा गुल्मीमा मात्र कम्तीमा छभन्दा बढी युवाहरू बिगत दुई वर्षमा गल्फ देशको भिसा छाडेर कृषि व्यवसायमा लागेको उल्लेख छ ।

गुल्मीका किसानहरूले प्रतिघरबाट एक वर्षमा १२ देखि १६ लाखसम्मको गोलभेंडा पैचोलाई दिन सक्ने बनेका विज्ञप्तिमा उल्लेख छ ।
कृषिमा युवाहरूलाई रोजगारी दिन सकेको भन्दै पैचोले गत वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मान प्राप्त गरेको थियो भने लगातार तीन वर्षसम्म खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागबाट विभिन्न स्थानमा आयोजना भएका खाद्य मेलाहरूमा उत्कृष्ट खाद्य उत्पादकको पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।
कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले स्थानीय कच्चा पद्धार्थबाट हुने पैचोका उत्पादनलाई आफूहरूले प्राथमिकताका साथ उत्पादन गर्ने बताए । कार्यक्रममा मुख्यमन्त्रीको कार्यालयका सचिव प्रदीपराज कणेल, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगतबहादुर साउँद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रमका सहभागीहरूलाई पैचोले आफ्नै उत्पादन प्रयोग गरेर विभिन्न परिकार बनाएर खाना खुवाएको थियो । कार्यक्रम जयन्द्र कुँवरको अध्यक्षतामा भएको थियो ।

निर्देशक ध्रुवराज न्यौपानेकाे अडियाे

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार