२० बैशाख २०८१, बिहीबार

कैलालीमा व्यावसायिक रूपमा टर्की पालन



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा व्यावसायिक रूपमा टर्की पालन व्यावसाय शुरु गरिएको छ । प्रदेश नम्बर ७ मा व्यावसायिक रूपमा टर्की पालन व्यवसाय सञ्चालनमा आएको यो पहिलो हो ।
घोडाघोडी नगरपालिका वडा नम्बर १, सुखडका डिआर चौधरीले व्यावसायिक टर्की पालन शुरु गरेका छन् । उनले गत असार महिनादेखि व्यावसायिक रूपमा टर्की पालन शुरु गरेका छन् । उनले गत पुसबाट मासुका लागि टर्की बिक्री पनि शुरु गरेका छन् ।
उनले भने– काठमाडौं, वीरगन्ज र चितवनबाट पहिलो पटक सात सय २५ वटा चल्ला ल्याएर व्यवसाय शुरु गरे । तर, टर्की पालन सम्बन्धी ज्ञानको कमीका कारण पाँच सय ५० चल्ला मात्रै जोगिए ।
उनले एक बिघा आठ कठ्ठामा तीन खोर बनाएर टर्की पालन गरेका छन् । उनले भाले र पोथी टर्की पालन गरेका छन् । बाँकी जमिनमा कागती र विभिन्न प्रजातिका फलफूल समेत रोपेका छन् । ‘अहिले फलफूलका विरुवा साना भएकाले टर्कीलाई खोर मै राखेर पालिरहेको छु’ उनले भने– विरुवा हुर्किएपछि खुला रूपमा पाल्ने योजना बनाएको छु ।
उनले निकट भविष्यमै ‘हर्वल टर्की’ पालनको योजना बनाएका छन् । त्यसकै लागि सिडनेस कागती र फलफूल लगाएको बताए । त्यस्तै, घरमै उत्पादित मकै र गहुँलाई टर्कीको चाराको रूपमा प्रयोग गरिरहेका छन् ।
उनले आउँदो असारदेखि टर्कीको चल्ला पनि बिक्री गर्ने योजना बनाएका छन् । उनले तीन सयदेखि एक हजारसम्ममा टर्कीको चल्ला बिक्री गर्ने तयारी समेत गरेका छन् ।
सामानयतया: नौ महिनाको टर्कीको तौल नौ किलोसम्म हुन्छ । उनले गत पुसमा बिक्री गरेका टर्कीको तौल सरदर आठ किलो रहेको थियो । एउटा टर्कीले एक वर्षमा ८० वटा सम्म अण्डा पार्ने गर्दछ । पालेको छ महिना मै टर्कीको मासु खान लायक हुने र टर्कीको आयु सरदर २० वर्षसम्म हुने गर्दछ ।
झट्ट हेर्दा ब्रोइलर कुखुरा जस्तो देखिने टर्कीको भाले एक वर्षमा १२ देखि १५ केजीसम्म र पोथी टर्की आठदेखि १० केजीसम्म तौलसम्मको हुने गर्दछ । अहिले बजारमा टर्कीको मासुको मूल्य प्रतिकिलो सरदर आठ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
डिआरले स्वअध्ययनका आधारमा टर्की पालन व्यवसाय गरिरहेका छन् । उनी भन्छन्– मैले अहिलेसम्म खासै प्राविधिक सहयोग लिएको छैन ।
टर्कीको मासु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । टर्कीको मासुमा कोलेष्ट्रोलको मात्रा कम हुन्छ । उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरल, युरिक एसिडजस्ता रोगका बिरामीका लागि टर्कीको मासु लाभदायक हुने पशुसेवा कार्यालय कैलालीका प्रमुख डाक्टर वसन्त सिंह बताउँछन् ।
हाल, कैलाली तथा पोखरा, चितवन, धरान लगायतका केही स्थानमा व्यावसायिक रूपमा टर्की पालन भइरहेको छ ।
यता, धनगढीको अन्मिन चोकमा सेन्ट्रल मिट सपले टर्कीको मासु बिक्री भइरहेको छ । मिट सपका सञ्चालक गोकर्ण चौधरीले टर्कीको आलो मासु बिक्री गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार