१७ बैशाख २०८१, सोमबार

उद्यम अवलोकनबाट उद्यमीहरू उत्साहित



धनगढी । सात नम्बर प्रदेशका युवा उद्यमीहरूले पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा गरिएको उद्यम अवलोकन भ्रमणले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् ।
७ नम्बर प्रदेशका बाजुरा, डडेल्धुरा, कैलाली र कञ्चनपुरका २४ जना युवा उद्यमीहरूले भरखरै प्रदेश नम्बर ५ का पाल्पा, रुपन्देही र कपिलवस्तु जिल्लामा उद्यम अवलोकन भ्रमण गरेका थिए । छ दिनसम्म भएको उद्यम अवलोकन भ्रमणका क्रममा ५ नम्बर प्रदेशका तीन जिल्लामा बाख्रापालन, गाईपालन, कुखुरापालन, पाल्पाली ढाका उद्योग, अष्ट्रिचपालन, मौरीपालन तथा अदुवा प्रशोधन उद्योगको अवलोकन गरेका थिए ।
‘यो उद्यम अवलोकन भ्रमणले मलाई निकै उत्साहित बनाएको छ’ भ्रमणपछि बाजुराका युवा उद्यमी शंकर चँदाराले भने– पाँच नम्बर प्रदेशका उद्यमीले हामीभन्दा निकै मिहिनेत गरेका रहेछन् । बाजुरामा व्यावसायिक रूपमा बंगुरपालन व्यवसाय गरिरहेका शंकरले थपे– उहाँहरूको उद्यमशिलताबाट मैले धेरै सिक्ने अवसर पाए ।
त्यस्तै, अनुभव कैलालीको टीकापुरका युवा उद्यमी रंग अधिकारीको पनि छ । उद्यमी अधिकारीले आफू रुपन्देहीका युवा उद्यमी शशी पौडेलबाट निकै प्रभावित भएको बताए । युवा उद्यमी शशी केही वर्ष अमेरिकामा बसेर नेपाल फर्केर अहिले रुपन्देहीमा व्यावसायिक रूपमा गाईपालन गरिरहेका छन् ।
त्यस्तै, केही वर्ष विभिन्न खाडी मुलुकमा रोजगारी गरी स्वदेश फर्केर अहिले कपिलवस्तुमा व्यावसायिक रूपमा पशुपालन व्यवसाय गरिरहेका जयलाल गिरीको उद्यमशिलताबाट पनि भ्रमणमा सहभागी अधिकांस उद्यमी प्रभावित भएका छन् । जयलाल अहिले कपिलवस्तुमा गाई, भैसी, बाख्रा, कुखुरा र माछापालन व्यवसायमा जुटेका छन् ।
भ्रमणमा सहभागी कैलालीका हिना चौधरीले पनि पाँच नम्बर प्रदेशका युवा उद्यमीहरूबाट आफूलाई अझ मिहिनेत गर्न प्रेरणा मिलेको बताइन् । हिना माछापालन व्यावसायम गरिरहेकी छिन् ।
नेपाल सरकारको राष्ट्रिय युवा परिषदको ‘युवा अनुभव आदानप्रदान कार्यक्रम’ अन्तर्गत सात नम्बर प्रदेशका युवा उद्यमीहरूले भ्रमणको अवसर पाएका थिए । भ्रमण टोलीमा कैलाली, कञ्चनपुर, डडेलधुरा र बाजुरा जिल्लाका युवा परिषदका जिल्ला अध्यक्षहरू क्रमश: शम्भु कुँवर, महेश पन्त, भरत मल्ल र युवराज शाही तथा युवा उद्यमी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
टोलीले फागुन २९ देखि चैत ४ गतेसम्म ५ नम्बर प्रदेशका तीन जिल्लाका विभिन्न उद्यमको अवलोकन भ्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार