२ जेष्ठ २०८१, बुधबार

बाजुरामा व्यावसायिक बंगुरपालन



बाजुरा । दुर्गम बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा व्यावसायिक रूपमा बंगुरपालन शुरु भएको छ । स्थानीय शंकर चँदाराले १५ महिना अघि शुरु गरेको बंगुरपालन व्यवसाय अहिले निकै फस्टाइसकेको छ ।
१५ महिनाअघि चार लाख ५० हजार रुपैयाँको लागतमा उनले बंगुरपालन व्यावसाय शुरु गरेका थिए । उनले भने– ‘अहिले मेरो बंगुर फार्ममा लियर्स, धराने, च्वाचे लगायतका प्रजातिका गरी ४२ वटा बंगुर रहेकाछन् ।
शंकरले केही वर्ष एउटा गैरसरकारी संस्थामा काम गरेका थिए । उनले व्यावसाय प्रवद्र्धनका लागि स्थानीय सञ्चारमाध्यममा आकर्षक ढंगले प्रचार सामग्री प्रसारणको व्यवस्था मिलाएका छन् । स्थानीय एक सामुदायिक रेडियोबाट हरेक शुक्रबार र शनिबार बिहान उनको फार्मका तर्फबाट विज्ञापन प्रसारण हुने गर्दछ ।
‘बंगुरपालनबाट साप्ताहिक रूपमा ३० देखि ३५ हजार रुपैयाँ आम्दानी भइरहेको छ’ उनले भने– ‘दाना, कामदारको खर्च तथा अन्य खर्च कटाएर मासिक ४० हजार रुपैयाँ जति शुद्ध नाफा हुने गरेको छ ।
व्यावसायी शंकरले भने– ‘पहाडसम्म दाना पुर्‍याउन निकै महंगो पर्छ, तर पनि मैले कैलाली, कञ्चनपुरकै भाउमा मासु बिक्री गरिरहेका छु ।’ उनका अनुसार प्रतिकिलो तीन सय रुपैयाँमा मासु बिक्री भइरहेको छ । कैलाली, कञ्चनपुरमा पनि बंगुरको मासु प्रतिकिलो तीन सय रुपैयाँका दरले बिक्री भइरहेको छ ।
तर, अहिले उनको व्यापार केही कम भएको छ । ‘रेडियोमा सूचना प्रसारणपछि बिहानदेखि दिउसो दुई बजेसम्म सरदर दुई क्विन्टल मासु बिक्री हुन्थ्यो, आजभोलि केही कम भएको छ’ उनी भन्छन्– ‘बंगुरपालन व्यवसायमा सरकारका तर्फबाट प्राविधिक सहयोग छैन ।’
उनको फार्ममा ५० वटा बंगुर पाल्ने क्षमता छ । उनले पाठा पनि बिक्री गर्ने गरेका छन् । ७५ दिनका एक जोडा पाठा १० हजार रुपैयाँमा बिक्री भइरहेका छन् । आठ महिनामा एउटा बंगुरको तौल एक क्विन्टल हुन्छ । त्यो भन्दा बढी समय पालेमा पौने तीन क्विन्टलसम्म तौल हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार