२ जेष्ठ २०८१, बुधबार

हात्तीपाइले रोग विरुद्धको औषधि अभियान



धनगढी । स्वास्थ्य क्षेत्रका विज्ञहरूले मान्छेलाई अपाङ्ग बनाउने मध्येको एक प्रमुख कारण हात्तीपाइले भएकाले यसको औषधि अनिवार्य रूपमा सेवन गर्न आग्रह गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विज्ञहरूले औषधि सेवन गर्न योग्य उमेर समूहका सबैलाई आम औषधि वितरण कार्यक्रममा सहभागि भएर औषधि सेवन गर्न आग्रह गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंले हात्तीपाइले रोगको औषधिबारे जनमानसमा व्याप्त गलत धारणाका कारण औषधि सेवन कार्यक्रम अपेक्षा गरेअनुसार सफल हुन नसकिरहेको चर्चा गरे । उने भने– ‘यो रोगको औषधिको सामान्य असर मात्रै हुन्छ, तर धेरैले सोच्छन्, यसले ‘साइड इफेक्ट’ गर्छ ।’
बरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंले सामान्य असर प्रत्येक औषधिको हुने गरेको बताए । ‘तर, हात्तीपाइले रोग विरुद्धको औषधिबारे धेरै नै गलत हल्ला चलाइएको छ ।
उनले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेमा रोगबाट प्रभावित भएका व्यक्तिलाई बढी ‘साइड इफेक्ट’ देखिने गरेको बताए । उनले कसै–कसैलाई बान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने, शरीर चिलाउने, पेट दुख्ने तथा झुम्म पारेको जस्तो लाग्ने असर देखा पर्ने बताए ।
उनले यस्तो असर केही घण्टापछि आफै निको हुने बताए । उनले औषधिको असरबाट बच्नका लागि प्रर्याप्त मात्रामा पानी तथा झोलिलो पदार्थ पिउनुपर्ने बताए । ‘यदि बढी असर देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुस्’ उनले आग्रह गरे– ‘यो औषधि खाएर मान्छे मर्दैन, बरु औषधि नखाए हात्तीपाइले रोगले आजीवन अपाङ्ग बनाउन सक्छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेपालमा प्रतिदिन विभिन्न कारणले सात सय जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांक रहेको उल्लेख गरे । ‘हात्तीपाइले रोगको औषधि सेवन गरेकै दिन पनि अन्य विविध कारणले मान्छे मर्न सक्छन्, तर यसलाई हात्तीपाइले रोगको औषधिसँग जोडेर भ्रमपूर्ण र आधारहीन खबर बाहिर आउने गरेका छन् ।’
प्रमुख जिल्ला अधिकारी रिजालले आज (शनिबार) देखि शुरु हुने आम औषधि सेवन कार्यक्रममा सहभागि भइदिन सर्वसाधारणमा आग्रह गरे । ‘हात्तीपाइले रोगलाई नेपाल सरकारले सन २०१८ भित्र एक प्रतिशतभन्दा कममा झार्ने र सन् २०२० सम्ममा देशबाटै उन्मुलन गर्ने लक्ष्य लिएको छ’ उनले भने– ‘हात्तीपाइले रोग निवारणका लागि सरकारको करौडौं रुपैयाँ खर्च भए पनि सर्वसाधारणले औषधि सेवन नगर्दा प्रभावहिन भएको छ ।
यस वर्ष कैलालीमा साढे आठ लाखभन्दा बढी जनसंख्यालाई औषधि खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालयले लक्ष्य राखेको छ ।
दुई वर्षदेखि औषधि खान योग्य उमेर समूहका मान्छेलाई यो औषधि खुवाइन्छ । दुईदेखि पाँच वर्ष उमेर समूहकालाई दुई प्रकारको एक/एक चक्की औषधि खुवाइन्छ । छ देखि १४ उमेर समूहलाई तीन चक्की औषधि खुवाइने गरिएको छ ।
हात्तीपाइले लामखुट्टेको टोकाइबाट मान्छेमा सर्ने सरुवा रोग रहेको चिकित्सकले बताएका छन् । रोग संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोकेमा उच्चेरेरिया बान्क्रोफ्टी नामक परजीवी सरुवा भएर यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा लाग्ने गरेको छ ।
यो भाइरस सरेको मान्छेमा अत्यधिक समयमा रोगको लक्षण देखा पर्दैन । एक सय मध्ये ७० जनालाई रोग लागेर पनि लक्षण नदेखिने गरेको तर परजीवीले विस्तारै भित्री अङ्गमा क्षति गर्ने गरेको छ । रोगबाट बच्नका लागि औषधि सेवन गर्नुको विकल्प छैन् । यद्यपि, दुई वर्षमुनीका बालबालिका, गर्भवती महिला र दीर्घरोगीहरुलाई औषधि खुवाइने गरिएको छैन ।
हात्तीपाइले रोग लागेमा खुट्टा, अण्डकोष नसा फुल्ने, महिलाको स्तनमा गिर्खा देखिने, पुरुषको हाइड्रोशिल हुने, ज्वरो आउने, कमजोरी हुने, शरीर चिलाउने जस्ता लक्षण देखा पर्ने गरेको छ । अन्तिम अवस्थामा यो रोगले मान्छेको खुट्टा हात्तीको जस्तो भएर अपाङता हुने चिकित्सकले बताएका छन् ।
नेपालको कुल जनसंख्याको १३ प्रतिशतमा हात्तीपाइले रोग लागेको चिकित्सकले बताएका छन् । ६१ जिल्लामा प्रकोप रहेको यो रोगबाट अढाई करोड जनसंख्या जोखिममा रहेको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले सन १९९७ मा यो रोगलाई उन्मूलन गर्न सक्ने प्रमाणित गरेपछि आम औषधि वितरण कार्यक्रम लागू गरिएको हो । ७३ वटा देशमा रहेको यो रोगलाई सन २०२० सम्म सर्न नसक्ने बनाएर उन्मूलन गर्ने लक्ष्य रहेको छ । वर्षमा एक पटकमात्रै छ वर्षसम्म औषधि सेवन गरेका व्यक्तिलाई त्यसपछि जीवनभर हात्तीपाइले रोग नलाग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले बताए ।
अभियानको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीहरुले सो औषधि सेवन गरेका थिए । औषधि सेवन गर्दा कुनै असर नपर्ने तर, स्वास्थ्यका लागि लाभदायिक हुने सन्देश दिन सञ्चारकर्मीहरुले सो औषधि सेवन गरेका हुन् ।
सञ्चारकर्मीहरुसहित सामाजिक विकास शाखाका सचिव विष्णुसिंह विष्ट, कैलाली प्रमुख जिल्ला अधिकारी रिजाल, जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाई, जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुले औषधि सेवन गरेका थिए ।
कैलालीमा आजदेखि शुरु हुन लागेको औषधि सेवन अभियानको यो छैठौं चरण हो । ७ नम्बर प्रदेशको कैलाली र कञ्चनपुरमा पाँचौं चरणसम्म पनि औषधि सेवन कार्यक्रम सञ्चालन गरिएपनि अझै हात्तीपाइलेको जोखिम यथावत रहेको छ । ७ नम्बर प्रदेशको कैलाली र कञ्चनपुरमा पुन: अर्को पटक पनि यो अभियान सञ्चालन गरिने छ । यस प्रदेशका अन्य जिल्लामा भने हात्तीपाइलेको जोखिम नभएपछि छैठौं चरणपश्चात अभियान सञ्चालन गरिने छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार