११ श्रावण २०८१, शुक्रबार

मुख्यमन्त्रीको दौड : माओवादी केन्द्रबाट मुख्यमन्त्रीका लागि भट्ट सिफारिस



धनगढी । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रले डोटीको प्रदेश सभा ख बाट निर्वाचित प्रदेश सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।
माओवादी केन्द्रको ७ नम्बर प्रदेश कार्यालयले शुक्रबार प्रदेश सांसद भट्टलाई मुख्यमन्त्रीका लागि केन्द्रमा सिफारिस गरेको छ । माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज तथा सचिवालय सदस्य लेखराज भट्ट, प्रदेश संयोजक लक्ष्मणदत्त जोशी सहितको प्रदेश कार्यालयले भट्टको नाम सिफारिस गरेको जनाइएको छ । प्रदेश इन्चार्ज भट्टले प्रदेश कार्यालयको बैठकले मुख्यमन्त्रीबारे सिफारिस गरेको बताए । उनले दुईतीन दिनभित्र केन्द्रले निर्णय गर्ने बताए । ‘हामीले प्रदेशको मुख्यमन्त्रीका लागि त्रिलोचनजीको नाम केन्द्रमा सिफारिस गर्‍यौं’ नेता भट्टले भने– अन्तिम निर्णय केन्द्रले गर्ने छ ।
बाम गठबन्धनले ७ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने सहमति गरेपछि सो पार्टीका सांसदहरूबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा चलेको थियो ।
मुख्यमन्त्रीका लागि कैलालीका प्रदेश सांसद वीरमान चौधरी, अछामका झपटबहादुर बोहरा, डोटीका भट्ट लगायतको नाम बढी चर्चामा रहेको थियो ।
प्रदेश सभामा माओवादी केन्द्रका १४ जना प्रदेश सांसद रहेका छन् ।
मुख्यमन्त्रीका लागि माओवादी केन्द्रको प्रदेश कार्यालयबाट सिफारिस गरिएका ४८ वर्षीय सांसद भट्टले ०४७ सालदेखि माओवादी राजनीतिक यात्रा शुरु गरेका थिए । भारतमा रहेको बामपन्थी समर्थित अखिल भारत नेपाली एकता समाजबाट राजनीति शुरु गरेका उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा डोटी जिल्ला इन्चार्ज रहेका छन् ।
उनी २०६४ र ०७० सालमा डोटीबाट संविधान सभा सदस्य निर्वाचन लडेका थिए ।
प्रदेश सांसद भट्टले मुख्यमन्त्रीका लागि सिफारिस बारे आफूलाई प्रष्ट जानकारी भइनसकेको बताए । उनले भने– आज (शुक्रबार) सिफारिस गर्ने भन्ने सुनेको थिए, तर के निर्णय भयो भन्ने मलाई जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार