२० बैशाख २०८१, बिहीबार

होटल व्यावसायमा उल्लेखीय लगानी



धनगढी । ७ नम्बर प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पछिल्लो समय यता होटल व्यावसायमा निजी क्षेत्रबाट लगानी बढ्दै गएको छ ।
प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा होटल व्यवसायमा निजी लगानी बढ्दै गएको हो । एक दशक पहिले खासै नफस्टाएको होटल व्यवसाय पछिल्लो समय फस्टाउँदै गएपछि यहाँका नागरिक होटलमा लगानी गर्न उत्साहित भएका छन् । कैलाली र कञ्चनपुरको होटल व्यवसायमा अहिले चार अर्ब बढी लगानी रहेको छ । आर्थिक विकासको मेरुदण्डको रूपमा हेरिएको पर्यटन व्यवसायमा केही सुधार हँुदै गएपछि होटल व्यवसायतर्फ लगानी भित्रिदै गएको छ ।
विगतमा निजी क्षेत्रबाट होटल व्यावसायमा उल्लेख्य लगानी हुन नसकेको ७ नम्बर प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीमा पछिल्लो समय लगानी वृद्धि हुँदै गएको छ । एक दशक पहिले थोरै होटलहरू रहेको यो कैलालीमा होटल व्यवसाय एकाएक फस्टाएको होटल व्यवसायीहरूले बताएका छन् ।
एक दशक पहिलेको तुलना अहिले ३० देखि ३५ प्रतिशतले होटल व्यवसायमा लगानी बढेको संघका निवर्तमान महासचिव कलम बमले बताए । होटल व्यवसायी संघ कैलालीमा अहिले साना तथा ठूला गरेर ६ सय ५७ होटल दर्ता भएका भइसकेको उनले जानकारी दिए । निजी लगानीकर्ताले होटलमा लगानी गर्ने माहोल बन्दै गएपछि होटल व्यवसायप्रति आकर्षण बढेको उनले बताए । जिल्लामा अहिले ३ अर्ब बढी होटल व्यवसायमा लगानी रहेको र करिब ९ हजार बढीले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए ।
बढ्दै गएको लगानीले युवा शक्तिको विदेश पलायन हुनबाट रोकिएको छ । त्यस्तै कञ्चनपुरमा पनि पछिल्लो समय होटल क्षेत्रमा लगानी बृद्धि हुँदै गएको छ । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले होटलमा केही वर्ष यता निजी क्षेत्रबाट लगानी बढ्दै गएको बताए ।
साना तथा ठूला गरेर कञ्चनपुरमा चार सय होटल दर्ता भएका छन् । दर्ता नभएका गरेर त्यो संख्या झन्डै आठ सय पुग्ने छ । लगानी अनुसारको आम्दनी पनि हुन थालेपछि व्यवसायी प्राय: सन्तुष्ट नै देखिन्छन् । तर त्यसका लागि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बृद्धि हुनुपर्ने र पर्यटकीय गतिविधि सञ्चालनमा विशेष ध्यान दिनुपर्ने होटल व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष महेशकुमार शाहले बताए ।
१ देखि ४ तारेसम्मका होटल सञ्चालन गरेर व्यवसायमा लागेका उनीहरूले बेला बखत विभिन्न खालका समस्या जस्तै बन्द, हडतालसमेत झेल्दा लगानी उठ्ने होइन कि भन्ने चिन्तासमेत उत्पन्न हुने गरेको व्यवसायहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार