२२ बैशाख २०८१, शनिबार

सुन्तलाको उत्पादन घट्यो



डडेल्धुरा । डडेल्धुरा जिल्लामा विगतको तुलनामा सुन्तलाको उत्पादन घटेको छ । समयम वर्षा नहुँदा तथा सिंचाईंको उचित प्रवन्ध नभएकाले सुन्तला उत्पादन घटेको किसानले बताएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार पछिल्लो समयमा किसानहरूले परम्परागत खेतीभन्दा फलफूल खेतीमा रुची देखाउँदै आएका थिए । पछिल्लो दशकमा डडेल्धुरामा सुन्तला खेती राम्रै फस्टाएको कृषि विकास कार्यालय डडेल्धुराका कृषि प्रसार अधिकृत टेकबहादुर बिष्टले बताए । उनका अनुसार हाल सुन्तलालगायत अमिलो जातका फलफूलका पात पहेंलो हुँदै जाने, नफल्दै बिस्तारै सुक्ने, लामो समयसम्म नहुर्कने र विभिन्न रोगहरू देखा पर्नेजस्ता समस्या देखिन थालेका छन् ।
सुन्तला तथा जुनार उत्पादनको लागि परिचित हुँदै आएको डडेल्धुरामा जुनार, मौसमी तथा सुन्तला उत्पादन घट्न थालेपछि बजारमा फलफूलको मूल्य बढेको छ । यस वर्ष विगतको भन्दा करिब ३० प्रतिशतले उत्पादनमा कमी आएको किसानले बताएका छन् ।
जिल्लाको अमरगढी नगरपालिका, बगरकोट, नवदुर्गा, समैजी, असिग्राम, रुपाल, भागेश्वर र कैलपालमाडौंलगायतका ठाउँलाई सुन्तला खेतीका रुपमा पकेट क्षेत्रका रुपमा हेर्ने गरिन्छ । जिल्लामा सुन्तला, जुनार, कागती, निबुआलगायतका अमिलो जातका फलफूल चार सय ६७ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ । डडेल्धुरामा वार्षिक चार हजार छ सय एक मेट्रिक टन सुन्तला जातको फलफूल उत्पादन हँुदै आएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका कृषि प्रसार अधिकृत बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार